नेभिगेशन
विश्व

सन् २०२५ को पहिलो छ महिनामा यमनमा अमेरिका र इजरायलको आक्रमणमा ७७६ जनाको मृत्यु

साना, १४ भदौ - सन् २०२५ को पहिलो छ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले शनिबार जनाएको छ ।

 राजधानी साना, रेड सीको बन्दरगाह शहर होदेइदा, सादा र अम्रान प्रान्तमा सबैभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको यमनी सञ्चारमाध्यमले जनाएका छन् । 

गत अप्रिल २८ मा सादा प्रान्तको आप्रवासी हिरासत केन्द्रमा अमेरिकी हवाई आक्रमणमा ७० इथियोपियाली आप्रवासीको पनि मृत्यु भएको थियो ।

अल–मसिराह टिभीले मारिएका र घाइते भएकाहरूको विवरण उपलब्ध गराएको छैन र तथ्याङ्कहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन। हवाई आक्रमणले विमानस्थल, बन्दरगाह, विद्युत् र इन्धन स्टेसनका साथै कारखानालाई समेत निशाना बनाएको बताइएको छ ।

गत मे महिनामा ओमानको मध्यस्थतामा हुथी विद्रोहीले लाल सागरमा अमेरिकी पानीजहाजलाई निशाना बनाउने काम बन्द गर्ने प्रतिबद्धता जनाएपछि संयुक्त राज्य अमेरिकाले हुथीविद्रोही माथिको आक्रमण रोकेको थियो ।

यसैबीच, गाजामा इजरायल–हमास युद्धका बीच प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउन हुथी विद्रोहीले सन् २०२३ नोभेम्बरदेखि इजरायललाई लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनले निशाना बनाइरहेका छन् ।

इजरायलले प्रतिकारलाई निरन्तर जारी राखेको छ । यस हप्ता उसले सानामा हुथी विद्रोहीको निशानामा दुई चरणको हवाई आक्रमण गरेको थियो, जसमा १० जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ९२ जना घाइते भएका थिए । मारिनेमा अधिकांश महिला र बालबालिका थिए, हुथीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीका अनुसार इजरायली सेनाले बिहीबार हुथी कमाण्डरहरुको बैठकलाई लक्षित गरी दोस्रो श्रृङ्खला आएको जनाएको छ । 

हुथी सञ्चारमाध्यमले समूहका जनरल स्टाफ प्रमुख मोहम्मद अब्दुलकरिम अल गुमारीलाई उद्धृत गर्दै कुनै हताहती नभएको बताएको छ । उनले भने,“ यमनमाथिको इजरायली आक्रमणको उचित जवाफ आउनेछ ।”  

- रासस/एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्