नेभिगेशन
शिक्षा

गोठगाउँमा डाक्टरीको पढाइ सुरु

 

इटहरी । मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा एमबिबिएस कार्यव्रmमको कक्षा सुरु भएको छ ।
दुई दशकदेखि प्रयासपछि गाठगाउँमा एमबिबिएस पठनपाठन सुरु भएको हो । यससँगै पूर्वाञ्चल क्षेत्रमै चिकित्सा शिक्षाको विस्तारका लागि नयाँ अध्याय सुरु भएको विश्वविद्यालयले जनाएको छ । नेपाल सरकारले एमबिबिएस कार्यक्रममा ५० विद्यार्थी भर्ना गर्ने अनुमति दिएपछि विश्वविद्यालयको चिकित्सा विज्ञान संकायमार्फत पहिलो पटक चिकित्सा शिक्षाको स्नातक तहको कक्षा सञ्चालन भएको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाका अनुसार विश्वविद्यालय स्थापना भएको करिब तीन दशकपछि चिकित्सा शिक्षा सुरु हुनु आफैँमा महत्वपूर्ण उपलब्धि हो ।
पूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालन गर्ने लक्ष्यका साथ २०६२ सालदेखि नै प्रव्रिmया अघि बढाएको थियो । उतिबेला विश्वविद्यालयले एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा लिएर ५ सय २० जना विद्यार्थी छनोटसमेत गरेको थियो तर मेडिकल कलेज सञ्चालन गर्न कम्तीमा तीन शय्याको आफ्नै शिक्षण अस्पताल अनिवार्य हुने व्यवस्था लागू भएपछि तत्काल कार्यक्रम सञ्चालन गर्न सम्भव भएन । 
विश्वविद्यालयले ३ सय ३० शय्याको कोशी अस्पतालसँग शिक्षण अस्पतालका रूपमा सहकार्य गर्ने सम्झौता गरेको थियो । यस सहकार्यसँगै चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक मुख्य आधार तयार भएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै विश्वविद्यालयले एक सय शय्याको आफ्नै अस्पताल पनि सञ्चालनमा ल्याइसकेको छ ।
सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले विश्वविद्यालयको सेवा विस्तारसँगै स्थानीय बासिन्दाले पनि विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विव्रmमप्रसाद श्रेष्ठले करिब दुई दशकको प्रयासपछि सुरु भएको एमबिबिएस कार्यव्रmमलाई पूर्वाञ्चल विश्वविद्यालय मात्र होइन, सम्पूर्ण पूर्वाञ्चल क्षेत्रकै चिकित्सा शिक्षा विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए । विश्वविद्यालयले आगामी वर्षमा एमडी तथा एमएसलगायत उच्च तहका चिकित्सा कार्यव्रmम पनि सञ्चालन गर्ने योजना बनाएको छ । शिक्षण अस्पतालको क्षमता विस्तार गर्ने, अनुसन्धान गतिविधि बढाउने तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउने तयारीसमेत भइरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्