नेभिगेशन
प्रदेश

पालिका र प्रदेशबीच विवादको मारमा लम्कीचुहा अस्पताल

धनगढी । लम्कीचुहा नगरपालिकाले सञ्चालन गरिरहेको १५ शैय्याको अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गर्न विनियिजित साढे पाँच करोड रुपैयाँ खर्च हुन सकेको छैन ।
चालु वर्ष २०८२÷८३ सकिन चार महिना मात्रै बाँकी रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले उक्त बजेट खर्चको लागि पहल नगरेको पालिकोको गुनासो छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त अस्पतालको बजेट खर्च गर्न टेन्डर आह्वान, जनशक्ति व्यवस्थापनलगायतका काम गर्नुपर्ने भए पनि नगरको पालिका स्रोत जनाउँछ ।
यसवर्ष उक्त अस्पताललाई १५ शैय्याबाट स्तरोन्नति गरी ५१ शैय्याको लम्कीचुहा अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न तीन करोड, अस्पतालका लागि औजार उपकरण खरिद गर्न एक करोड र स्तरोन्नतिका लागि एक करोड ५० लाख गरी जम्मा साढे पाँच करोड रुपैयाँ विनियोजन भएको थियो ।
मन्त्रालयले समयमै नगरपालिकाबाट हस्तान्तरण लिई संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्नुपर्ने पनि नगरेको जनाइएको छ । सामाजिक विकास मन्त्रालयका सचिव डा.हेमराज रेग्मीले अस्पताललाई प्रदेश मातहतमा लिई प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गर्न पर्याप्त बजेट विनियोजन गरिए पनि कार्यान्वयन नभएको बताए । ‘अस्पतालको बजेट कार्यान्वयन भइसकेको छैन,’ उनले भने, ‘मेसु नियुक्त गर्न बाँकी छ । हामीले छिट्टै नियुक्त गररे पठाउँछौं ।’
उक्त अस्पताललाई प्रदेशको मातहतमा ल्याई प्रदेश सरकारबाट नै साधन स्रोत व्यवस्थापन हुने गरी स्तरोन्नतिसहित सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्नेगरी हस्तान्तरण गर्ने निर्णय नेपाल सरकारले गत जेठ २६ गते नै गरको थियो । उक्त निर्णयपछि हस्तान्तरण लिनका लागि मन्त्रालयले नगरपालिकासँग गर्ने सम्झौताको मस्यौदा तयार गरेको छ ।
तर लम्कीचुहा नगरपालिकाले हस्तान्तरण नभएको जनाएको छ । लम्कीचुहा नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसी अहिलेसम्म नगरपालिकाकै बजेटबाट अस्पताल सञ्चालन भइरहेको बताउँछिन् । मन्त्रालयका सचिव रेग्मीले  कानुनी रूपमा प्रदेश मातहतमा आइसकेको भए पनि प्रक्रियागत र व्यवहारिक रूपमा मात्रै प्रदेश मातहतमा ल्याउन बाँकी रहेको बताए ।
नगरपालिकाकै मातहतमा रहेको अस्पतालमा प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरेपछि प्रदेश सरकार र उक्त नगरपालिकाबीच विवाद चर्किएको छ । प्रदेश सरकारले आइतबार प्रदेशका तीन प्रादेशिक अस्पतालमा व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काको निर्णयबाट सेती, लम्कीचुहा र जोगबुढा प्रादेशिक अस्पतालमा अध्यक्ष र सदस्यको नियुक्ति गरिएकोमा लम्कीचुहा अस्पतालमा व्यवस्थापन समिति गठनको विरोध भएको छ ।
उक्त अस्पतालमा नगरपालिकाले गठन गरेको व्यवस्थापन समितिको पदावधि बाँकी रहेकै बेला प्रदेशले अको समिति गठन गरेपछि नगरपालिकाले विरोध जनाएको हो । उक्त अस्पताल व्यवस्थापनका लागि लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीको अध्यक्षतामा व्यवस्थापन समिति छ । ‘मेयरको अध्यक्षतामा यहाँ छुट्टै बोर्ड छ,’ समितिका सदस्य पहल शाहीले भने, ‘आइतबार मात्रै बोर्डको बैठक बसेको थियो । नगरले अस्पताल हस्तान्तरण नगर्दै प्रदेशले विकास समिति गठन गरेको जानकारीमा आएको छ ।’ मन्त्रालयले उक्त अस्पताल हस्तान्तरण लिएर अस्पतालमा कार्यरत करार कर्मचारीलाई आफ्नो मातहत ल्याउन पहल गरेकोभए पनि नगरपालिकाले नै चासो नदिएको मन्त्रालयको भनाइ छ । मन्त्रीस्तरीय निर्णयबाट लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा पूर्वशिक्षक रामबहादुर विष्ट नियुक्त भएका छन् । ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँरलाई मन्त्री खड्काले सदस्यमा नियुक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्