नेभिगेशन
खेलकुद

एन्फालाई साधारणसभा र निर्वाचन प्रक्रिया स्थगन निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो साधारण सभा र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगित गर्न कडा निर्देशन दिएको छ । राखेपले एन्फालाई पत्र काट्दै परिषद्को पूर्व स्वीकृति बिना निर्वाचन तालिका प्रकाशन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७ को (ग) अनुसार कुनै पनि संघको साधारण सभा र निर्वाचनका लागि परिषद्को स्वीकृति अनिवार्य हुने कानुनी व्यवस्था स्मरण गराएको छ । एन्फाले परिषद्को निर्देशनलाई अटेर गरी सामाजिक सञ्जालमार्फत निर्वाचन सम्बन्धी थप तालिका सार्वजनिक गरेकोमा राखेपले आपत्ति जनाएको छ । परिषद्ले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को (ङ) बमोजिम दिएको निर्देशन पालना नभएको यस पत्रमा उल्लेख छ ।
विज्ञप्तिमा स्पष्ट पारिएको छ कि परिषद्को स्वीकृति बिना गरिने साधारण सभा र निर्वाचनले कानुनी मान्यता पाउने छैनन् । यस्तो अवस्थामा संघको विधानमा रहेका व्यवस्था समेत मूल कानुनसँग बाझिएको हदसम्म स्वतः निष्क्रिय हुने कानुनी सिद्धान्तलाई राखेपले आधार बनाएको छ । परिषद्ले एन्फालाई पत्र प्राप्त भएको मितिले ३ दिनभित्र निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य रोकी सोको लिखित जानकारी गराउन आदेश दिएको छ ।


यदि एन्फाले पटक–पटकको निर्देशन पालना नगरी प्रक्रिया अगाडि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र प्रचलित कानुन बमोजिम संघ नै भङ्ग हुन सक्ने चेतावनी समेत राखेपले दिएको छ । यो निर्देशनको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय र सातै प्रदेशका सम्बन्धित मन्त्रालयहरूमा समेत पठाइएको छ ।
पंकज विक्रम नेम्वाङको अध्यक्षतामा रहेको एन्फाले क्लब र जिल्लाको तहगत निर्वाचन नगरी एक्कासि ‘अर्ली इलेक्सन’को नाममा पुरानै प्रतिनिधिलाई सामेल गराएर निर्वाचन गर्न लागेको भन्दै सरोकारवालाले विरोध गर्दै आएका छन् ।
यसअघि एन्फाले फागुन २७ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । त्यतिबेला तय भएको एन्फा निर्वाचन रोक्न निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुनसक्ने देखिएको भन्दै निर्देशन दिएपछि रोकिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्