नेभिगेशन
खेलकुद

सूर्य नेपाल गल्फ टुरः नगरकोटी शीर्षस्थानमा

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । 
विहीबार ३–अन्डर ६६ खेलेका उनले समग्रमा ३–अन्डर १ सय ३५ को स्कोरमा शुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन् । आज २–अन्डर ६७ खेल्दै समग्रमा २–अन्डर १ सय ३६ सहित शुक्र दोस्रो स्थानमा झरे । 
१–ओभर ७० को स्कोर बनाएका जयराम श्रेष्ठ समग्रमा १–ओभर १ सय ३९ सहित तेस्रो स्थानमा झरेका छन् । समग्रमा २–ओभर १ सय ४० को स्कोरमा सञ्जय लामा चौथो स्थानमा उक्लिए । उनले लगातार दोश्रो दिन १–ओभर ७० को कार्ड बनाए । पहिलो दिनका संयुक्त लिडर भुबहादुर गुरुङले आज ५–ओभर ७४ को प्रदर्शन गरे । समग्रमा ५–ओभर १ सय ४३ सहित घरेलु प्रो भुबहादुर पाँचौं स्थानमा तल झरे । 
समग्रमा ६–ओभर १ सय ४४ स्कोर खडा गरेका रमेश अधिकारीले दोस्रो दिनको खेल ४–ओभर ७३ मा सकाए । उनी छैटौं स्थानमा रहे । समग्रमा ७–ओभर १ सय ४५ को स्कोरका साथ सुरेश तामाङ र भुवन कुमार रोक्काले सातौं स्थान बाँडे । आज सुरेशले २–ओभर ७१ र भुवनले ४–ओभर ७३ खेले । आज ४–ओभर ७३ स्कोर बनाएका रवि खड्का समग्रमा ८–ओभर १ सय ४६ सहित नवौं तथा समग्रमा ९–ओभर १ सय ४७ सहित नेपाल नम्बर एक गल्फर निरज तामाङ दशौं स्थानमा रहेका छन् । निरजले आज ४–ओभर ७३ को प्रदर्शन गरे । 
यसअघि लगातार दुई प्रतियोगिता जितेका भुवनले शीर्षस्थानमा एकल अग्रता बनाउने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । उनले तेस्रो, चौथो, पाँचौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे । ५–पारको छैटौं होलमा डबल बोगी खेपे । यसपछि १० औं र १३ औं होलमा एक–एक सट बचाउँदा ११ औं होलको बोगीले ब्याक नाइन १–अन्डर ३४ मा पुरा गरे । 
शुक्रले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बोगी खेपे । दोस्रो र छैटौं होलमा एक–एक सट बचाए । यसपछि ब्याक नाइनमा सम्हालिंदै ३–अन्डर ३२ को स्कोर निकाले । उनले १०औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे । 
जयरामले तेस्रो होलको बर्डीका विरुद्ध दोस्रो र चौथो होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन १–ओभर ३५ खेले । यसपछि १०औं होलमा बर्डी र १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३५ मा सकाए । 
एमेच्योरतर्फ राहुल विश्वकर्मा ८ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । उनले आज ३–ओभर ७२ सहित समग्रमा ३–ओभर १ सय ४१ को स्कोर निकाले । पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका राहुल समग्रमा भने पाँचौं स्थानमा झरे । किशन परियारले ३–ओभर ७२ मा दोस्रो दिनको खेल सकाए । उनले समग्रमा ११–ओभर १ सय ४९ स्कोर जोडे । एमेच्योरतर्फ यी दुईले मात्र कट बनाए । 
समग्रमा १२–ओभर १ सय ५० स्कोरमा कट लागु हुँदा १८ प्रो र २ एमेच्योर गरी २० जनाले अन्तिम दिनको लागी स्थान सुरक्षित गरे । प्रो तर्फ तोरण विक्रम शाही, रामे मगर, वसन्त राज गुरुङ, प्रदीप कुमार लामा, सुमन परियार, शिव कुमार माझी, दिनेश प्रजापति र दिपक मगरले कट बनाए । 
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । तीन दिने यो प्रतियोगिता ५४ होलको हुनेछ । 
१८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन् । शनिबार भने प्रो–एम इभेन्ट हुनेछ ।
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक प्रोफेसनल गल्फर निरज तामाङसहित यो कोर्समा कोर्स रेकर्ड बनाएका भुवन नगरकोटी, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । प्रोफेसनल खेलाडीहरूलाई एमेच्योर राहुल विश्वकर्माले कडा चुनौती दिन सक्छन् ।
माछापुच्छ«े हिमालको मनोरम दृश्य र विजयपुर खोलाको किनारमा रहेको आकर्षक कोर्सलाई नेपालकै चुनौतीपूर्ण गल्फ कोर्स मानिन्छ । साथै यो कोर्सलाई साहसिक गल्फ कोर्समध्ये एक भनेर गल्फ डाइजेस्टले समेत मान्यता दिएको छ । जहाँ गल्फरहरूको लागि पनि यो कोर्समा उत्कृष्ट प्रदर्शन गर्नु चुनौती छ ।
एनपिजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, ‘हामी लगातार २६ औँ वर्ष यो प्रतियोगिता आयोजना गर्न पाउँदा अत्यन्त खुसी छौँ । निरन्तर सहयोगका लागि प्रायोजक सूर्य नेपाल प्रालिप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । प्रोफेसनल र एमेच्योर दुवै खेलाडीहरूले रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शन गर्नेमा म विश्वस्त छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्