नेभिगेशन
उपत्यका

२९ हजार डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । चीन जान लागेका तीन नेपाली यात्रु बिहीबार करिब २९ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी–६ की ३८ वर्षीया संगीता लामा र लिसंखु पाखर–७ का ४७ वर्षीय विनोद लामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालले जानकारी दिए । उनीहरु चाइना साउदर्नको उडान नम्बर सिजेड ६०६८ द्वारा काठमाडौंबाट चीनको ग्वाङझाउ जान लागेका थिए । विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ परेका हुन् । ‘जाँचका क्रममा उनीहरुका साथबाट अमेरिकी डलर बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको हो,’ एसपी सिलवालले भने । 
प्रहरीले अनिताका साथबाट अमेरिकी डलर १०० दरको १०० थान गरी १० हजार, संगीता लामाको साथबाट एक सय दरको १०० थान गरी १० हजार तथा विनोद लामाका साथबाट एक सय दरको ८९ थान आठ हजार ९०० गरी कुल २८ हजार ९०० डलर बरामद गरिएको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोकको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्