रौतहट, १४ भदौ - रौतहटको चन्द्रपुर नगरपालिका आसपासको ग्रामीण क्षेत्रमा एक वर्षदेखि आतंक मच्चाइरहेको जंगली हात्ती ‘यमगज’ पछिल्लो समय शहरी क्षेत्रमा प्रवेश गरेको छ ।
लामो समयदेखि चन्द्रपुर नगरपालिकाका वडा नम्बर २ र ३ का बस्तीहरूमा देखिएको हात्तीले अब चन्द्रनिगाहपुरजस्ता शहरी बस्ती छिर्न थालेको हो । यस बीचमा यमगजले स्थानीयको धानबाली र घरमा पनि क्षति पुर्याइरहेको छ ।
पछिल्ला केही दिनदेखि यमगजले चन्द्रनिगाहपुर क्षेत्रमा १० भन्दा बढी घरहरूमा आंशिक क्षति पुर्याएको छ । बुधबार र बिहीबार हात्तीले किसानका धानबालीमा पनि नोक्सानी पुर्याएको थियो ।
यस बीचमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र वन रक्षकसहित स्थानीयले हात्तीलाई जंगलतिर धपाउने प्रयास गरेका थिए । तर, हात्तीले फेरि बस्तीमा फर्केर त्रास बढाएको छ ।
घाइते यमगजले गंगा खड्काको होटलको सटर भत्काइदिएको थियो । होटल सञ्चालक खड्काले भनिन्, ‘ज्यान भाग्यले बाँचे, तर यस हात्तीको आतंकले हामीलाई ठूलो मानसिक दबाबमा राखेको छ ।’
स्थानीय कर्ण लामाले आफूहरूले बुधबार रातभरि हात्तीलाई भगाउने प्रयास गरेको बताए । ‘हात्तीको कारणले स्थानीयलाई घरभित्र बस्न सक्ने अवस्था छैन,’ उनले भने, ‘हामीहरूलाई रातभरि त्रासका साथ बिताउनुपरेको छ ।’
पर्सा राष्ट्रिय निकुञ्जबाट आएको यमगज घाइते अवस्थामा रहेको छ । उसले आफ्नो दाहिने खुट्टा राम्रोसँग टेक्न सक्दैन । हिँड्ने बेला खुट्टा खोच्याउँदै हिँड्ने गर्छ । हात्तीको दाहिने खुट्टाको पूरै भाग सुन्निएको छ । हात्तीको उपचार पटक–पटक भए पनि पूर्णरूपमा निको भएको छैन ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोषका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामासहितको चिकित्सकको टोलीले दुईपटकसम्म बेहोस पारेर घाइते यमगजको उपचार गरेको थियो । उपचारपछि केही सुधार भए पनि अझसम्म पूर्णरूपमा निको भइसकेको छैन ।
घाइते यमगज लामो दूरीसम्म हिँड्न नसक्ने भएकाले आफ्नो वास्तविक बासस्थानमा फर्कन नसकेको डिभिजन वन कार्यालय रौतहटका हेमन्तप्रसाद साह बताउँछन् । आफूहरूले पटक– पटक राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, प्रदेश सरकार र संघीय सरकारलाई यमगजको उद्धार तथा उपचारका लागि पत्रचार गरे पनि ठोस सुनुवाइ नभएको उनको भनाइ छ ।
‘हामीले यमगजलाई यहाँबाट लगेर चितवन वा पर्सा राष्ट्रिय निकुञ्जमै राखेर उपचार गर्न विभिन्न निकायहरूलाई लिखित तथा मौखिक आग्रह गरेका छौं,’ उनले भने, ‘तर कुनै पनि निकायबाट ठोस पहल भएको छैन । हामीले हाम्रो कार्यालयले सकेसम्म हात्तीको सुरक्षा र हात्तीबाट मानवलाई सुरक्षा दिन खटिएका छौं ।’
यसको उपचार र उद्धारका लागि राष्ट्रिय र संघीय सरकारसँग गरेको आग्रहमा कुनै ठोस पहल नभएको डिभिजन वन कार्यालयका प्रमुख साहले बताए । यमगजको घाइते अवस्थाका कारण यसले बस्तीमा खाना खोज्दै पसेको अनुमान गरिएको छ ।
यमगजले अहिलेसम्म मानवीय क्षति नपुर्याएको भए पनि किसानको बालीमा लाखौंको नोक्सानी पुर्याएको छ । यसले गर्दा किसानहरू भोलि केही अप्रिय घटना घट्ला कि भन्ने चिन्ता र त्रासमा छन् ।
हात्ती अहिले शान्त रहेको भए पनि यसको आक्रामक स्वभावको कारण जोखिम उच्च रहेको जनाएका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख नायब उपरीक्षक रूपा लाबुङले स्थानीयलाई आग्रह गर्दै भनिन्, ‘यमगजको नजिक नजाऔं, यसले आक्रमण गर्न सक्छ र ज्यानै जोखिममा पार्न सक्छ ।’
स्थानीयहरूले यमगजको आतंकबाट आफूलाई बचाउन र त्यसको उपचार तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । यमगजको आतंकबाट बचाउन सरकारको प्रभावकारी कदम आवश्यक रहेको भन्दै चन्द्रपुर नगरपालिकाका बासिन्दाले पनि डिभिजन वन कार्यालय रौतहटअगाडि प्रदर्शनसमेत गरेका छन् ।
यमगजको उपचार र उद्धारका लागि सरकारको तत्परता अत्यन्तै महत्वपूर्ण भएको स्थानीयहरूको भनाइ छ ।