नेभिगेशन
नेपाल

आज देशभर बादल लाग्ने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।

वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार, कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

राति भने देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्