नेभिगेशन
प्रदेश

पातिहाल्नामा १२ घण्टा कठांग्रिए यात्रु

रुकुम पूर्व । हिमपातले सेताम्य भएको फोटो हेर्दा रमाइलो लाग्ने पातिहाल्नामा शनिबार दुई सय जनाभन्दा बढी यात्रुले भोकैप्यासै कठांग्रिदै जीवनकै नमिठो अनुभव गरेका छन् । लगातारको हिमपातले रोकिएका यात्रुको १२ घण्टापछि डोजरले हिउँ पन्छाउँदै सडक खुलाएर उद्धार भएको हो ।
बागलुङ र रुकुमपूर्वको सिमानामा पर्ने पातिहाल्ना क्षेत्रमा भएको हिमपातले  मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा शनिबार बिहान ५ देखि बसका यात्रु अलपत्र परेका थिए । काठमाडौंबाट छुटेका रात्री बससहित ७ वटा बस, एउटा जिप र करिब १० मोटरसाइकल बीच रोकिएर सयौं यात्रु अलपत्र थिए । 


शनिबार साँझ सडक खुलाइएपछि सवारीहरु गन्तव्यतर्फ गएका छन् । यात्रुको उद्धार भएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले भूमे गाउँपालिका–१ अन्तर्गत लुकुम, पातिहाल्ना सडक खण्ड ठप्प बनेको हो । बाक्लो हिमपातले गाडी चलाउन नसकिने भएपछि यात्रुहरू शनिबार बिहादेखि कठ्यांग्रिने चिसोमा बस्न बाध्य भएका थिए । भोक र चिसोका कारण अवस्था थप जोखिमपूर्ण बनेको थियो ।
स्थितिलाई मध्यनजर गर्दै भूमे गाउँपालिकाले डोजर परिचालन सडक खुलाएको उपाध्यक्ष सबिना बुढाले बताइन । उनका अनुसार गाडी जानसक्ने बनाइएसँगै यात्रुहरूलाई सुरक्षित स्थानतर्फ गइसकेका छन् ।
उद्धार गरिएका यात्रुहरूले हिमपातका कारण ठूलो सास्ती खेप्नुपरेको बताएका छन् । पोखराबाट रुकुम पश्चिमतर्फ जाँदै गरेकी लक्ष्मी शाहीले बस बीच बाटोमै रोकिँदा लामो समय चिसोमा बस्नुपरेको र भोकै बस्नुपर्दा अवस्था झनै कठिन बनेको बताइन् । यस्तै, मुस्ताङबाट घर फर्किँदै गरेका महेश शाहीले हिउँका कारण यात्रा अघि बढाउन नसकिएको र हिउँमै भिजेर बस्नुपरेको बताए ।
लगातारको हिमपात र वर्षासँगै मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा  दूरसञ्चार सेवा समेत प्रभावित बनेको छ । मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन चुनौती रहने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्