नेभिगेशन
अर्थतन्त्र
रसुवागढीको उत्पादन ५५ दिनदेखि ठप्प

६७ करोडभन्दा बढी आम्दानी गुम्यो

काठमाडौँ, १४ भदौ - रसुवास्थित १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन ५५ दिनदेखि ठप्प छ । उत्पादन बन्दले ६७ करोड रुपैयाँ भन्दा बढी आम्दानी गुमेको छ । गत असार २४ गते ल्हेन्दे खोलाको पानी भोटेकोशी नदीमा पसेर आएको बाढीले जलविद्युत् केन्द्रको बाँध क्षेत्रको संरचना नै पुरेको थियो ।

बाँध नै पुरिएपछि उत्पादन बन्द हुँदा हालसम्म विद्युत् बिक्रीबाट हुने ६७ करोड ३१ लाख रुपैयाँ  आम्दानी गुमिसकेको जलविद्युत् केन्द्र प्रमुख सत्यराम ज्याख्वले बताए । ‘बाढीले क्षति पुर्‍याएदेखि नै उत्पादन पूर्णरूपमा ठप्प छ,’ उनले भने, ‘विद्युत्बाट हुने दैनिक १ करोड २७ लाख रुपैयाँ बराबरको आम्दानी गुमिरहेको छ ।’

रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरेको यो जलविद्युत् केन्द्रले गत पुस १६ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । अहिले पनि बाँध क्षेत्रमा बाढी कुदिरहेकाले तत्कालै पुनर्निर्माण गर्न सकिने अवस्था नरहेको उनले बताए ।

बर्खापछि मात्रै क्षतिको पूर्ण विवरण यकिन गरेर पुनर्निर्माणको काम अगाडि बढाउन सकिने भएकाले आयोजनाले आम्दानीको ठूलो हिस्सा गुमाइरहेको उनको भनाइ छ ।

‘स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म पुग्ने सडक नै छैन । खाद्यान्न पनि बोकाएर लैजान परिरहेको छ । यो अवस्थामा क्षतिग्रस्त संरचनाको निर्माण गरेर कहिलेदेखि जलविद्युत् केन्द्र सञ्चालनमा ल्याउने भन्ने नै टुंगो छैन,’ उनले भने ।

बाढीले जलविद्युत् केन्द्रको बाँध क्षेत्रमा क्षति पुर्‍याउनुका साथै बगेर आएका फोहोरले संरचना नै पुरेको उनले बताए । बाढीले आयोजनाको बाँधका गेटहरू पुरेको छ । आयोजनाले क्षतिको पूर्ण र यकिन विवरण तयार पार्न सकेको छैन । पुरिएको बाँधबाट ढुंगामुढा र फोहर निकालेर
अध्ययन गरेपछि मात्र क्षतिको पूर्ण विवरण आउने उनले बताए ।

उनका अनुसार प्रारम्भिक अनुमानअनुसार संरचनामा भएको क्षति तथा आवासगृह, गाडी र गाडी मर्मतको ग्यारेज बगाउँदा साढे ३ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको छ । बाढीले जलविद्युत् केन्द्रको आवास क्षेत्रका घर टहरा र ९ वटा गाडी बगाएको थियो । ‘अहिले हाम्रो आवास क्षेत्र बगर बनेको छ । कर्मचारीका लत्ताकपडादेखि सबै सामान बगाएको छ । अहिले घट्टे खोलाको भवनमा बसेर कार्यालयको दैनिक काम गरिरहेका छौं,’ उनले भने ।

रसुवागढी चिलिमे जलविद्युत् कम्पनीको सहायक रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण भएको जलविद्युत केन्द्र हो । यो जलविद्युत् केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको समेत लगानी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्