नेभिगेशन
खेलकुद

अवसर गुमायो अष्ट्रेलियाले, इतिहास लेख्यो जापानले

सिड्नी । जापानले आयोजक अष्ट्रेलियालाई १–० ले पराजित गर्दै महिला एसियन कप फुटबलको उपाधि तेस्रो पटक जितेको छ । सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा ७४ हजार ३९७ दर्शकको कीर्तिमानी उपस्थितिमा सम्पन्न फाइनल खेलमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पारेको हो ।
दुवै टोलीमा इङ्ग्लिस महिला सुपर लिगमा खेल्ने खेलाडीहरूको बाक्लो उपस्थिति रहेको रोमाञ्चक खेलको निर्णय १७औँ मिनेटमा माइका हमानोले गरेको गोलले भयो । टोटनहमबाट लोनमा खेलिरहेकी हमानोले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल सिधै गोलपोस्टको कुनामा जाँदा जापानले अग्रता लिएको थियो ।
अष्ट्रेलियाले खेलभरि केही राम्रो अवसर पाए पनि गोल गर्न सकेन । यससँगै अष्ट्रेलिया लगातार तेस्रो पटक एसियन कप फाइनलमा जापानसँग पराजित भएको छ । यसअघि पनि अष्ट्रेलिया २०१४ र २०१८ को फाइनलमा जापानसँग नै हारेको थियो ।
अर्सनलकी विङ्गर केटलिन फोर्डले पहिलो हाफमा तीन वटा राम्रो अवसर गुमाइन् । जापानको गोलरक्षक आयाका यामाशिताको गलत पासबाट आएको अवसरमा उनले प्रहार गरे पनि बल गोलपोस्ट बाहिर गएको थियो ।
पहिलो हाफको अन्त्यतिर जापानकी टोकियो कोगाले अर्को गोल गर्ने अवसर बनाएकी थिइन् । हिनाता मियाजावाको पासमा उनले शक्तिशाली प्रहार गरे पनि अष्ट्रेलियाकी गोलरक्षक म्याक्केन्जी अर्नोल्डले बचाउ गरिन् ।
दोस्रो हाफमा खेल झन् तीव्र बनेको थियो । दुवै टोलीले आक्रमण गर्दै गोलको खोजी गरे । खेलको अन्तिम समयमा अष्ट्रेलियाले दबाब बढाएको थियो । हेले रासोले फोर्डको उत्कृष्ट पासमा गोल गर्ने अवसर पाए पनि जापानकी रियोन कितिगावाले अन्तिम क्षणमा बल रोक्दै टोलीलाई बचाइन् ।
८५औँ मिनेटमा अष्ट्रेलियाकी एमिली भान एगमन्डले पनि राम्रो मौका पाएकी थिइन्, तर जापानका डिफेन्डरहरूले बल रोक्दा अष्ट्रेलिया बराबरी गर्न असफल भयो ।
यस हारसँगै अष्ट्रेलियाले प्रतियोगिताको उपाधि जित्ने आफ्नो लामो प्रतीक्षा जारी राख्नुपरेको छ । अष्ट्रेलियाले अन्तिम पटक २०१० मा मात्र एसियन कप जितेको थियो ।
सन् २०२३ को विश्वकपपछि घरेलु मैदानमा अर्को ठूलो प्रतियोगिता जित्ने अवसर अष्ट्रेलियाका लागि महत्वपूर्ण मानिएको थियो । धेरै समर्थकले यो टोलीलाई “सुनौलो पुस्ता” भनेर समेत सम्बोधन गरेका थिए ।
तर टोलीका प्रमुख खेलाडी साम केर र मेरी फाउलर चोटका कारण पूर्ण रूपमा फिट नभएकाले अष्ट्रेलियाले विश्वकपमा देखाएको प्रदर्शन दोहो¥याउन सकेन । १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय करियर सुरु गरेकी साम केर अहिले ३२ वर्षकी भइसकेकी छन् र टोलीका केही अनुभवी खेलाडीहरूले अब नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने समय नजिकिएको मानिएको छ ।
जापानविरुद्धको खेलमा अष्ट्रेलियाले ९४ मिनेटमा जम्मा पाँच पटक मात्र गोलपोस्टतर्फ प्रहार गर्न सकेको थियो, जसले टोलीको आक्रमण कमजोर देखिएको विश्लेषण गरिएको छ ।
यसबीच अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिला फुटबल प्रतियोगितामा महिला प्रशिक्षकको सहभागिता अनिवार्य गर्ने नयाँ नियम ल्याएको छ । नयाँ नियमअनुसार फिफाका महिला प्रतियोगितामा सहभागी प्रत्येक टोलीमा कम्तीमा एक जना महिला मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षक हुनुपर्नेछ ।


यो नियम यस वर्ष हुने यू–१७ र यू–२० महिला विश्वकप तथा महिला च्याम्पियन्स कपबाट लागू हुनेछ ।
नयाँ प्रावधानअनुसार प्रत्येक टोलीको बेन्चमा कम्तीमा दुई जना महिला स्टाफ हुनुपर्नेछ, जसमा एक जना प्रशिक्षकको भूमिकामा हुनुपर्नेछ । यो नियम राष्ट्रिय टोली र क्लब दुवैमा लागू हुनेछ ।
फिफाका प्रमुख फुटबल अधिकारी जिल एलिसले महिला प्रशिक्षकको संख्या अझै कम भएकाले परिवर्तन आवश्यक रहेको बताएकी छन् ।
उनका अनुसार नयाँ नियम र विकास कार्यक्रमले भविष्यमा महिला प्रशिक्षकको संख्या उल्लेख्य रूपमा बढाउने अपेक्षा गरिएको छ, विशेषगरी २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपसम्म यसको प्रभाव देखिने विश्वास गरिएको छ ।
हाल अन्तर्राष्ट्रिय फुटबलमा चर्चित महिला प्रशिक्षकहरूमा एम्मा हेयस, सरिना विगम्यान, जेम्मा ग्रेन्जर, केसी स्टोनी र कार्ला वार्ड लगायत रहेका छन् ।
विशेषगरी सरिना विगम्यानले इंग्ल्याण्डलाई लगातार दुई पटक युरोपियन च्याम्पियन बनाउँदै चार पटक फिफाको वर्षको उत्कृष्ट महिला प्रशिक्षक पुरस्कार जितेकी छन् ।
विगम्यानले शीर्ष स्तरमा महिला प्रशिक्षकको संख्या बढ्नुपर्ने बताउँदै सन्तुलन कायम भएमा अझ धेरै महिलाहरू प्रशिक्षक बन्न प्रेरित हुने बताएकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्