नेभिगेशन
विश्व

इरानी तेल भण्डारमाथि प्रतिबन्ध खुकुलिँदै

वाशिङ्टन (एजेन्सी)  । ऊर्जा संकट गहिरिँदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले उपलब्ध हुने हरेक तेलको भण्डार सुरक्षित गर्न हतारिएको प्रयास सुरु गरेको छ । त्यसक्रममा अमेरिकाले युद्ध गरिरहेको देश इरानसँग सम्बन्धित तेल भण्डारमाथिको प्रतिबन्धसमेत आंशिक रूपमा खुकुलो पार्ने तयारी गरेको छ ।
इरानसँगको युद्ध सुरु भएको तीन हप्ता बितिसक्दा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ । प्रशासनभित्र भएको आन्तरिक छलफलका आधारमा अधिकारीहरूले युद्धका कारण बढेको ऊर्जा मूल्य अझै केही महिना कायम रहने अनुमान गरेका छन् । विशेषगरी मध्यपूर्व क्षेत्रमा द्वन्द्व चर्किँदै जाँदा र हर्मुज जलडमरूमध्य हुँदै जहाज आवतजावत लगभग असम्भव बनेको अवस्थामा विश्व बजारमा तेल आपूर्ति प्रभावित भएको बताइएको छ ।
अमेरिकाले आपूर्ति अभाव कम गर्न प्रयोग गर्दै आएको अधिकांश नीतिगत उपायहरू यसअघि नै प्रयोग गरिसकेको छ । बाँकी रहेका विकल्पहरू प्रभावहीन वा राजनीतिक रूपमा असहज हुने खालका रहेको अधिकारीहरूको भनाइ छ ।
पूर्व अमेरिकी ऊर्जा विभागका वरिष्ठ अधिकारी निलेश नेरुरकरले तेल बजारमा आएको अवरोध असाधारण भएको बताएका छन् । उनका अनुसार बजारमा नपुगेको तेलको मात्रा अत्यन्त ठूलो भएकाले उपलब्ध उपायहरूले त्यसको भरपाई गर्न सक्ने अवस्था छैन ।
अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट सयौँ मिलियन ब्यारेल तेल बजारमा पठाउने निर्णय गरिसकेको छ । साथै रुसी तेलमाथिका केही प्रतिबन्ध खुकुलो पारिएको छ भने देशभित्र कच्चा तेल उत्पादन बढाउने कदम पनि चालिएको छ ।
यद्यपि ती उपायहरूले विश्व बजारमा मूल्य वृद्धि रोक्न सकेका छैनन् । अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ डलर पुगेको छ, जुन साढे तीन वर्षयताकै उच्च स्तर हो । अमेरिकामा पेट्रोलको औसत मूल्य पनि तीव्र रूपमा बढेर प्रति ग्यालोन करिब चार डलर नजिक पुगेको छ ।
यस अवस्थालाई नियन्त्रण गर्न प्रशासनले समुद्रमा रहेका इरानी तेलका केही भण्डारमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाउने विकल्प रोजेको छ । यस निर्णयले तेल अभाव झेलिरहेका अमेरिकी मित्र राष्ट्रहरूलाई ती भण्डार खरिद गर्न अनुमति दिनेछ ।
यो कदम राजनीतिक रूपमा असहज मानिएको छ । अमेरिका एकातिर इरानविरुद्ध सैन्य कारबाही गरिरहेको छ भने अर्कोतर्फ त्यही देशलाई तेल बेचेर आर्थिक लाभ लिन अनुमति दिनुपर्ने अवस्था आएको छ । हर्मुज जलडमरूमध्य बन्द भएपछि इरानले विश्व ऊर्जा बजारमा दबाब सिर्जना गरेको स्वीकारोक्तिका रूपमा पनि यो कदमलाई हेरिएको छ ।
राष्ट्रपति ट्रम्पका लागि यो निर्णय झन् संवेदनशील बनेको छ । उनले यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग गरेको आणविक सम्झौताअन्तर्गत नगद उपलब्ध गराएको भन्दै आलोचना गरेका थिए । तर अहिलेको परिस्थितिमा ट्रम्प प्रशासन आफैंले इरानको तेल बिक्रीलाई अप्रत्यक्ष रूपमा अनुमति दिनुपर्ने अवस्थामा पुगेको छ ।
प्रशासनभित्रका अधिकारीहरूका अनुसार बजारमा करिब १४ करोड ब्यारेल तेल थपिने सम्भावनाले तत्कालको संकट कम गर्न सहयोग पुग्ने ठानिएको छ । उक्त तेल अन्ततः चीनले किन्ने सम्भावना भए पनि प्रतिबन्ध खुकुलो पार्दा भारत, जापान, थाइल्याण्ड वा भियतनामजस्ता मित्र राष्ट्रहरूले खरिद गर्न सक्ने बताइएको छ ।
अमेरिकी अर्थ मन्त्रालयका सचिव स्कट बेसन्टले यो कदमलाई तेलको मूल्य नियन्त्रण गर्न इरानकै तेल प्रयोग गर्ने रणनीति भएको बताएका छन् । उनका अनुसार इरानले प्राप्त गर्ने आम्दानीमा पनि नियन्त्रण रहनेछ र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा उसलाई सहज पहुँच दिइने छैन ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले प्रतिबन्ध खुकुलो पार्ने निर्णय अस्थायी मात्र भएको बताएका छन् । उनका अनुसार इरानले ऊर्जा मूल्य अत्यधिक बढाएर दबाब दिने रणनीति अपनाएकाले त्यसलाई असफल बनाउन यो कदम चालिएको हो ।
विश्लेषकहरूका अनुसार समुद्रमा रहेको १४ करोड ब्यारेल तेल विश्वको कुल दैनिक खपतको करिब डेढ दिन बराबर मात्र भएकाले यसको प्रभाव लामो समय टिक्ने सम्भावना छैन ।
ऊर्जा विज्ञहरूका अनुसार अमेरिकी प्रशासन अब दुईमध्ये एक कठिन विकल्पतर्फ पुगेको छ । या त हर्मुज जलडमरूमध्य पुनः खुलाउने उपाय खोज्नुपर्नेछ, वा ऊर्जा मूल्य बढिरहँदा आउने आर्थिक असर सहनुपर्नेछ ।
प्रशासनले गर्मीयाममा प्रयोग हुने पेट्रोलसम्बन्धी वातावरणीय नियम खुकुलो पार्ने, थप भण्डार बजारमा पठाउने वा अन्य आपतकालीन उपाय अपनाउने विषयमा पनि छलफल गरिरहेको छ । तर अहिलेसम्म कुनै अन्तिम निर्णय भएको छैन ।
ऊर्जा बजारमा देखिएको संकटले युद्धको प्रभाव केवल सैनिक क्षेत्रमा मात्र सीमित नरही विश्व अर्थतन्त्रसम्म फैलिएको स्पष्ट संकेत दिएको छ ।
बढ्यो खति
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबीच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो ।
यसैबीच, इजरायलले  इरानले शनिबार बिहान पुनः मिसाइल आक्रमण जारी राखेको छ भने साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निश्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका छन् । कुनै मानव क्षति वा संरचनागत हानि भने भएको छैन ।
इरानले आक्रमणलाई बढाउँदै आफ्नो खाडी छिमेकीमा असर पु¥याइरहेको छ, जबकि हर्मुज जलमार्गमा व्यापार नियन्त्रण जारी राखेको छ । यो मार्ग विश्वको तेल र अन्य महत्वपूर्ण वस्तुहरूको लगभग पाँचौं हिस्सा बोक्ने मार्ग हो ।
इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोज पर्वको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको बताए । उनले इरानी जनताको दृढतामा प्रशंसा गरे ।
इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ देशका शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन् । यसले इरानले मध्यपूर्व बाहिर पनि आक्रमण गर्ने सम्भावना कायम राखेको देखाउँछ ।
अमेरिकाले इरानी तेलमा केही प्रतिबन्ध हटाउने घोषणा पनि गरेको छ, जसले मूल्य नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । तर उत्पादनमा वृद्धि नभएपछि तेलको आपूर्ति र मूल्यमा ठूलो असर नपर्ने देखिन्छ ।
युद्धमा हालसम्म इरानमा एक हजार ३०० भन्दा बढी, इजरायलमा १५ र पश्चिम बैङ्कमा चार नागरिकको मृत्यु भएको छ । अमेरिकी सेनाका कम्तीमा १३ सदस्यको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्