नेभिगेशन
शिक्षा

एसईईका विद्यार्थी घट्दै, केन्द्र कटौतीले विद्यार्थी मारमा

काठमाडौं । आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)  देशभर नै एसईईको विद्यार्थी घट्दो क्रममा रहेको पाइएको छ ।
विभिन्न जिल्लाबाट प्राप्त रिर्पोट अनुसार विद्यार्थी घटेका कारण केन्द्रको संख्या पनि घटेको छ भने समग्रमा विद्यार्थी संख्या पनि घट्दै गएको छ । पाल्पा संवाददाताले जनाए अनुसार पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या हरेक वर्ष कम हुँदै गएको छ । पछिल्लो तीन वर्षयता एसइई परीक्षा दिने विद्यार्थीको संख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जनाएको छ ।
तीन वर्षअघि २०८० सालको एसइई परीक्षामा चार हजार ९ सय १० जनाले परीक्षा दिएकामा यस वर्ष चार हजार ७ सय ९२ जनाले मात्र परीक्षा दिने तयारी गरेका छन् । एकाइ प्रमुख प्रेमराज खरेलले बढ्दो बसाइँसराइ र जन्मदरमा कमी आएकाले पछिल्ला वर्षमा विद्यार्थी संख्या घट्दै गएको बताए । ग्रेड वृद्धिका विद्यार्थी घट्ने बढ्ने भए पनि नियमिततर्फ परीक्षा दिने विद्यार्थी हरेक वर्ष घट्दै गएको उनले बताए ।
पाल्पामा यस वर्षको एसइईका लागि २६ वटा केन्द्र तोकिएका छन् । गत वर्ष २७ वटा केन्द्र रहेकोमा यस वर्ष एउटा केन्द्र घटेको छ ।
त्यसैगरी सिन्धुलीमा पनि यस वर्ष एसइई दिने परिक्षार्थीको संख्या गत वर्षको तुलनामा घटेको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिन्धुलीका अनुसार यस वर्षको एसइईमा परीक्षा दिने परिक्षार्थीको संख्या पाँच हजार २ सय ३ रहेको छ । गत वर्ष पाँच हजार ७ सय ७२ जना परिक्षार्थीले एसइई दिएका थिए । विद्यार्थीले बिचमा कक्षा छाड्ने प्रवृत्ति र कम भर्नालगायतका कारणले संख्या घटेको एकाइ प्रमुख मोहनबहादुर सुनुवारले बताए ।
गत वर्षको तुलनामा यस वर्ष दुधौली नगरपालिकामा २ सय ११ जना परीक्षार्थी घटेको उनले बताए । जिल्लामा परीक्षा दिनेमध्ये साधारण नियमिततर्फ चार हजार ४ सय ६१, प्राविधिकतर्फ २ सय ३१, नयाँ ग्रेडवृद्धितर्फ ५ सय ८ र गत सालअघिको ग्रेडवृद्धितर्फ तीन जना रहेका छन् । कुल परीक्षार्थीमध्ये छात्र दुई हजार ५ सय ६ जना र छात्रा दुई हजार ६ सय ९७ जना रहेका छन् ।
केन्द्र कटौती, विद्यार्थी मर्कामा
त्यसैगरी ताप्लेजुङमा ६ वटा परीक्षा केन्द्र कटौती गरिएको छ । गत वर्ष १७ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष ६ वटा कटौती गरी ११ वटा मात्र कायम गरिएको छ । 
शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका अनुसार जिल्लाभरका ११ केन्द्रबाट यस वर्षको एसईई सञ्चालन हुनेछ । परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या कम भएकाले केन्द्र कटौती गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जनाए । उनका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तीमा १ सय ५० जना परीक्षार्थी हुनुपर्ने निर्देशिकाको प्रावधानका कारण संख्या नपुग्दा केन्द्रहरू कटौती गरिएका हुन् । जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला र मिक्वाखोला गाउँपालिकामा यस वर्ष एसईईको कुनै पनि केन्द्र नतोकिएको उनले बताए ।
साविकका परीक्षा केन्द्र कटौती भएपछि परीक्षार्थी र अभिभावक भने मर्कामा परेका छन् । आफ्नै गाउँमा रहेको केन्द्र हटेपछि टाढाको केन्द्रमा गएर परीक्षा दिनुपर्ने र त्यसका लागि डेरा खोज्नुपर्ने तथा खर्चको व्यवस्थापन गर्नुपर्ने बाध्यता आइलागेको उनीहरूको गुनासो छ । निर्देशिका बमोजिम १ सय ५० भन्दा बढी परीक्षार्थी हुने गरी केन्द्र निर्धारण गर्नुपर्ने बाध्यता रहेकाले केन्द्र घट्न पुगेको एकाइको स्पष्टोक्ति छ ।
यस वर्ष फुङलिङ नगरपालिकामा सबैभन्दा बढी चारवटा केन्द्र तोकिएका छन् । जसमा भानुजन माध्यमिक विद्यालय, युवावर्ष माध्यमिक विद्यालय, बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय र सिद्धकाली माध्यमिक विद्यालय छन् । यस्तै, सिदिङ्वा गाउँपालिकाको भञ्ज्याङ मावि, सिरीजंघा गाउँपालिकाको सिनाम मावि र तेल्लोक माविमा केन्द्र कायम गरिएको छ ।
फक्ताङलुङ गाउँपालिकाको सिँवा मावि, मेरिङ्देन गाउँपालिकाको त्रिभुवन मावि, पाथीभरा याङवरक गाउँपालिकाको थेचम्बु मावि र आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती मावि हाङपाङमा परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष ताप्लेजुङबाट साधारणतर्फ नियमिततर्फ १ हजार ३ सय ४० र ग्रेडवृद्धितर्फ ५ सय ४७ जना तथा प्राविधिक धारतर्फ नियमित १ सय ३ र ग्रेडवृद्धितर्फ १९ गरी कुल २ हजार ९ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । यो संख्या गत वर्षको तुलनामा करिब १५० ले कम हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्