नेभिगेशन
प्रदेश

रुकुम पूर्वका स्थानीय तहमा पुथा उत्तरगंगा अब्बल

रुकुम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१÷०८२ को स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार रुकुम पूर्वका तीन स्थानीय तहमध्ये पुथा उत्तरगंगा गाउँपालिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा उक्लिएको छ ।
आयोगका अनुसार पुथा उत्तरगंगा गाउँपालिकाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लामै अग्रस्थान हासिल गरेको हो । त्यस्तै, ६३.६३ अंकसहित भूमे गाउँपालिका दोस्रो स्थानमा रहेको छ भने ६०.७७ अंक ल्याएर सिस्ने गाउँपालिका तेस्रो स्थानमा सीमित भएको तथ्यांकले देखाएको छ । यही मूल्याङ्कनका आधारमा आगामी आर्थिक वर्षका लागि समानिकरण अनुदान तथा वित्तीय हस्तान्तरण निर्धारण गरिनेछ ।
गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले समग्र टिमको समन्वय, पारदर्शिता र जनउत्तरदायित्वका कारण गाउँपालिका उत्कृष्ट बन्न सफल भएको बताए । पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व विकले दुर्गम भौगोलिक अवस्था र विभिन्न चुनौतीबीच पनि गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । उनले समन्वय, प्रतिबद्धता र स्थानीयस्तरको सक्रियताले नै यो उपलब्धि सम्भव भएको उल्लेख गरे । स्थानीय तहबीचको यस्तो प्रतिस्पर्धाले सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ भने पछिल्ला स्थानमा रहेका तहहरूले आगामी दिनमा थप सुधारका लागि ध्यान दिनुपर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्