नेभिगेशन
प्रदेश

वीरगञ्जको प्रभु अस्पतालका डा. गुप्तालाई कारबाही

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले वीरगञ्जको प्रभु हस्पिटल एन्ड रिसर्चका चिकित्सक डा. मनोजकुमार गुप्तालाई कारबाही गरेको छ । 
बिरामीको उपचारका क्रममा जाँच पड्ताल गरेर रिपोर्ट आउन्जेलसम्म पनि नकुरी हतार हतार शल्यक्रिया गर्दा बिराकीलाई भित्री अंगमा संक्रमण भएर ज्यान गएपछि डा. गुप्ता विवादमा तानिएका थिए । बिरामीको परिवारजनले दिएको उजुरी उपर अनुसन्धान गरी प्राप्त निष्कर्षको आधारमा उनीमाथि कारबाही भएको मेडिकल काउन्सिलले जनाएको छ । परिवारजनले उजुरी दिएको १४ महिनापछि डा. गुप्तामाथि कारबाही भएको हो ।  
काउन्सिलको हालै बसेको पूर्ण बैठकले गुप्तालाई छ महिनाका लागि प्रोबेसन कारबाही गरेको हो । जस अनुसार अब गुप्ताले अन्य चिकित्सकको निगरानीमा रहेर मात्र बिरामीको उपचार गर्नुपर्ने हुन्छ ।
काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले शल्यव्रिmयामा संलग्न चिकित्सकको बयान तथा विषयविज्ञको रायका आधारमा काउन्सिलले गुप्तालाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिए । डा. देवका अनुसार बाराका ३७ वर्षीय सुरेश शाह पित्तथैलीको समस्या भएपछि १४ कात्तिक २०८० मा प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि पुगेका थिए । अस्पतालमा कार्यरत डा. गुप्ताले पित्तथैलीको रिपोर्ट नआउँदै शल्यव्रिmयाको तयारी गर्न निर्देशन दिई शल्यव्रिmया गरेका थिए । शल्यव्रिmया गरेर पित्तथैली निकालेपछि परीक्षणका लागि काठमाडौं पठाइएको बताइए पनि रिपोर्ट भने उपलब्ध नगराइएको आरोप उनलाई लागेको थियो । शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि परिवारले अन्य अस्पतालमा लगेका थिए । त्यहाँ गरिएको परीक्षणमा पित्तथैलीको उचित परीक्षण नगरी शल्यव्रिmया गरिएको र भित्री अंगमा क्यान्सर फैलिएको पुष्टि भएको थियो ।
उपचारकै क्रममा सुरेशको २०८१ साउन ३२ मा मृत्यु भएको थियो । डा. गुप्ताको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवारजनले २०८१ पुस २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेका थिए । सोही उजुरीका आधारमा मेडिकल काउन्सिलले गरेको अनुसन्धानको निष्कर्षको आधारमा डा. गुप्तालाई कारबाही गरिएको काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले जनाएका हुन् ।
यो घटनाले नेपालको चिकित्सा क्षेत्रमा गम्भीर सुधारको आवश्यकता रहेको औंल्याएको छ । बिरामीको परीक्षण रिपोर्ट नआउँदै उपचार वा शल्यक्रिया गर्ने जस्तो लापरबाही रोक्न स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने देखिएको छ भने चिकित्सकको उत्तरदायित्व सुनिश्चित गर्न प्रभावकारी अनुगमन र द्रुत कारबाही प्रणाली पनि आवश्यक देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्