नेभिगेशन
प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले वार्षिकोत्सवका अवसरमा प्रदेश सरकारको १२ करोड लगानीमा स्थापना भएको एमआरआई सेवा सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताललाई थप गुणस्तरीय र विशिष्टीकृत बनाउँदै स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना रहेको बताए । प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताइएको पनि उनले बताए ।
१२ सय शय्याको अस्पताल निर्माणको काम अघि बढेको र हाल सम्म २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको स्वास्थ्य मन्त्री खेम सारु मगरले बताए ।
कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिँदै अस्पतालमा प्रसूति तथा बालरोग भवनमा अत्याधुनिक ४ वटा शल्यक्रिया कक्ष स्थापना भएको, १४ शय्याको पोस्ट अपरेटिभ र ८ शय्याको रिकभरी वार्डसहितको सुविधायुक्त अपरेसन थियटर सञ्चालन गरिएको बताए । आकस्मिक कक्षमा हुने बिरामीको चापलाई मध्यनजर गर्दै ४५ शय्याको मेडिकल वार्डलाई स्तरोन्नति गरी ९० शय्याको विशाल भौतिक संरचना निर्माण लगायतका भौतिक संरचनाहरु बिस्तार गरिएको उनले बताए ।
अस्पतालमा प्रविधिको क्षेत्रमा बिरामीको सहजताका लागि अनलाइन टिकट प्रणालीको सुरुवात साथै, बिलिङ काउन्टरहरूमा डाइनामिक डिजिटल पेमेन्ट सुविधासहितको छुट्टै डिजिटल पेमेन्ट काउन्टर स्थापना गरिएको छ । प्रयोगशाला जाँचको रिपोर्टका लागि लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्दै बिरामीको मोबाइलमा एसएमएस मार्फत रिपोर्ट जाने र अटोमेटिक डिस्प्याच मेशिनबाट बिरामी आफैँले रिपोर्ट प्रिन्ट गर्न सक्ने अत्याधुनिक व्यवस्था लगायतका सुविधा मिलाइएको जानकारी पनि ढकालले दिए ।
कार्यक्रममा अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरियो भने २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरियो । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्