नेभिगेशन
राजनीति

गगनको राजीनामा अस्वीकृत

देउवा–कोइराला पक्ष सक्रिय हुँदै

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापाले चुनावी पराजयपछि नैतिकताका आधारमा दिएको राजीनामालाई सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ । गत शुक्रबारदेखि तीन दिनसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो । थापालाई पूर्ववत् जिम्मेवारीमा फर्कन पनि कांग्रेस केन्द्रीय समितिले आग्रह गरेको छ । 
‘निर्वाचनले दिएको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रुपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको, देशको मौजुदा परिस्थितिमा सभापतिको रुपमा उहाँले निर्वाह गर्नुपर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभइसकेको वर्तमान अवस्थामा समयमै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने महŒवपूर्ण जिम्मेवारी समेतलाई मध्यनजर राखी उहाँलाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै यो बैठक सर्वसम्मतिबाट उहाँको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ,’ बैठकको निर्णय छ । 
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसकेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै बुधबार राजीनामा दिएका थिए । तर, आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले सभापति थापाको  उक्त राजीनामालाई ‘भावनात्मक र उच्च नैतिक’ कदम भन्दै वर्तमान जटिल परिस्थितिमा नेतृत्व परिवर्तन गर्दा पार्टीमा थप अस्थिरता आउने ठहर गरेको छ । प्रवक्ता देवराज चालिसेले राजीनामा अस्विकृत भएको बताउँदै भने, ‘वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको छ । राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले राजीनामा अस्वीकार गर्ने निर्णय भएको हो ।’ फागुन २१ को चुनावमा कांग्रेसले अनपेक्षित पराजय बेहोरेपछि संस्थापनइतरपक्षले नैतिकताको आधारमा सभापति थापाले राजीनामा दिनुपर्ने माग गरेका थिए । कांग्रेसले यसपटक प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरि जम्मा ३८ सिटमात्रै जितेको छ । 
बैठकले राजीनामा अस्वीकार गर्नुका ८ मुख्य आधारहरू प्रस्तुत गरेको छ । निर्वाचनमा पराजय हुनुको मुख्य कारण व्यक्ति नभई संरचनागत समस्या र नियन्त्रणबाहिरको परिस्थिति रहेको बैठकको निष्कर्ष छ । विशेष महाधिवेशनपछि सुरु भएको ‘कांग्रेस २.०’ अभियानलाई पूर्णता दिन र आगामी १५औं महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध राख्न थापाकै नेतृत्व आवश्यक रहेको बैठकको निर्णयमा उल्लेख छ । ५० दिनको छोटो अवधिमा नयाँ नेतृत्वले सबै चुनौती समाधान गर्न कठिन भएको कांग्रेस बैठकको निष्कर्ष छ । 
उपसभापति शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनलाई पनि बैठकले परिमार्जनसहित पारित गरेको छ । प्रतिवेदनले निर्वाचनमा कांग्रेस कमजोर हुनुका पछाडि मुख्य ५ कारण औंल्याएको छ ।  पार्टीभित्रको चरम गुटबन्दी र आन्तरिक असहयोग,  गठबन्धन सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्नु, ३५ वर्षमा ३२ पटक सरकार फेरिएको अस्थिरताप्रति जनताको आक्रोश, युवा पुस्ताको पुराना शक्तिप्रतिको असन्तुष्टि र डिजिटल युगको ‘एल्गोरिदम’ प्रभावका कारण नयाँ शक्तिलाई पुगेको लाभ भएको बैठकको निष्कर्ष छ ।  
आगामी गन्तव्यः १५औं महाधिवेशन
कांग्रेसले अबको सम्पूर्ण ऊर्जा र योजना १५औँ महाधिवेशनमा केन्द्रित गर्ने बैठकले निर्णय गरेको छ । १५औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन र संगठनात्मक पुनर्संरचना गरिने बताइएको छ । पार्टीले यस निर्वाचन परिणामलाई पुनर्जागरणको अवसरका रूपमा लिँदै कार्यकर्तालाई उच्च मनोबलका साथ एकताबद्ध हुन आह्वान पनि गरेको छ ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग 
०८२ भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा भएका घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ । ‘केन्द्रीय समिति बैठकले उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको छ,’ महामन्त्री प्रदीप पौडेलले भने । उनले  आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारीको विषय भन्दै प्रतिवेदन सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गर्ने बताए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले ६ महिना बढी समय लगाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेपनि सार्वजनिक भएको छैन । 
त्यस्तै, बैठकले पश्चिम एसियामा जारी युद्धप्रति चिन्ता व्यक्त गर्दै युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई सकुशल फर्काउन माग गरिएको छ । 
देउवा र कोइरालाको समूह सक्रिय
चुनावमा अनपेक्षित पराजय बेहोरेको पार्टीभित्रको विवाद फेरि बल्झिने देखिएको छ । शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरको समूह सक्रिय भएपछि यस्तो देखिएको हो । निर्वाचनका बेला दुवै समूह मत्थर थिए । आइतबार सानेपामा विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको बैठक बसिरहँदा शेरबहादुर देउवा र शेखर कोइरालापक्षको अलग्गै बैठक बस्यो । 
पूर्व उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकलाई कार्यसम्पादन समितिको बैठक भनिएको छ । अघिल्लो कार्यसमितिका प्रचार विभाग प्रमुख रहेका नेता मीन विश्वकर्माले काठमाडौंमा उपलब्ध कार्यसम्पादन समितिमा रहेकाहरुको बैठक बसेको बताए । ‘बैैठकमा निर्वाचन परिणामको समिक्षा ग¥यौं,’ उनले भने,‘सोमबार कार्यवाहक सभापतिज्यू गृहजिल्ला जाँदै हुनुहुन्छ । उहाँले शीर्ष नेताहरुसँग संवाद गरेर छिट्टै केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ । यही चैत १६ देखि १८ भित्र केन्द्रीय समिति बैठक बोलाउने तयारी छ ।’ बैठक बोलाउने जिम्मेवारी कार्यसम्पादन समितिको बैठकले नेता खड्कालाई दिएको छ । कुन केन्द्रीय समितिको बैठक बोलाउन लाग्नुभएको ? भन्ने प्रश्नमा विश्वकर्माले भने, ‘कांग्रेस केन्द्रीय समितिको बैठक । जुन १४ औं महाधिवेशनबाट निर्वाचित भएर बनेको थियो ।’ कार्यसम्पादन समितिको बैठकले चुनावी पराजयको कारण विशेष महाधिवेशन भएको पनि ठहर गरेको छ । केन्द्रीय समिति बैठकबाट १५औं महाधिवेशनको मिति तोक्ने यो समूहको तयारी छ । 
उता, सानेपाका बसेको केन्द्रीय समिति बैठक पनि १५औं महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । कांग्रेसको दुई समूहको यस्तो निर्णयले कांग्रेस विवाद पुनः सतहमा देखापरेको छ । 
स्रोतका अनुसार बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, बालकृष्ण खाणलगायतका दुई दर्जन जति नेता सहभागी थिए ।
विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको समितिलाई देउवा–कोइराला पक्षले अवैधानिक भन्दै दायर गरेको रिट  सर्वोच्चमा विचाराधीन छ । फागुन २१ को चुनावमा भने थापालाई नै सभापति मानेर उनको हस्ताक्षरको टिकटमा शेखर कोइराला, विजय गच्छदार, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, किशोरसिंह राठौर लगायतका देउवापक्षका नेताहरु चुनाव लडेका थिए । उनीहरु सबै पराजित भएका थिए ।
विशेष महाधिवेशनबाट थापा नेतृत्वमा आएको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएको थियो । चुनावका बेला मौन रहेको देउवा–कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा उपचारका लागि शनिबार सिंगापुरबाट हङकङ पुगेका छन् । 
हारको जिम्मेवार को ? 
सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावमा पार्टीको हारको जिम्मेवार को ? भन्ने विषयमा पनि लामो बहस भयो । सो क्रममा विशेष महाधिवेशनको विपक्षमा रहेकाहरुका कारण पार्टीले पराजय बेहोरेको धेरैको निष्कर्ष थियो । कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निष्कर्ष छ ।  घात अन्तर्घातका कारण २१ सीटमा पार्टी पराजित भएको  प्रवक्ता देवराज चालिसेले बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले ५ भोटदेखि ३ हजार मतान्तरमा २१ क्षेत्रमा कांग्रेस उम्मेदवार पराजित भएको र त्यहाँ अन्तरघात मुख्य कारण देखिएको बताए ।  
तर, विशेष महाधिवेशनबको विपक्षमा रहेकाहरु भने चुनावको अगाडी पार्टी कब्जा गरेको भदै लज्जास्पद हारको कारण विशेष महाधिवेशन भएको दाबी गर्छन् । विशेष महाधिवेशन अवैध भन्दै सर्वोच्च पुगेका कांग्रेस नेता श्याम घिमिरेले आशाको अनुहार गगन थापाले विशेष महाधिवेशनका कारण पार्टी पराजित भएको दाबी गर्छन् । पार्टीभित्र आशालाग्दो अनुहासर गगन थापालाई गलत समयमा एक्सपोज गर्दा पार्टीलाई अपूरणीय क्षति पुगेको उनले बताए । ‘गगनको नेतृत्वमा पार्टी अघि बढ्दा राम्रो परिणाम आउँछ भन्ने विश्वास थियो । त्यो विश्वासको धरातल पनि टुटेको छ ,’ उनले भने,‘ आगामी निर्वाचनमा गगनको अनुहार देखाएर मत तान्न सक्थ्यौं । आशाको अनुहार थियो । अनावश्यक समयमा एक्सपोज गर्दा परिणाम आएन । यो कांग्रेसका लागि अपूरणीय क्षति हो ।’ केन्द्रीय समिति बैठकबाट चुनावी समीक्षालगायत १५ औं महाधिवेशन लगायत विषयमा छलफल गर्ने यो पक्षको तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्