नेभिगेशन
विश्व

फिडेल क्यास्ट्रोको क्रान्ति अन्त्य गर्ने ट्रम्पको दाउ

वासिङ्टन डिसी  । डोनाल्ड ट्रम्पले क्युबासँगको सम्झौता अब निकै नजिक रहेको भान दिलाइरहेका छन् । तर गत हप्ताका घटनाक्रम हेर्दा विश्लेषकहरु भने यसमा त्यति विश्वस्त छैनन् ।
‘उनीहरूसँग ऊर्जा छैन । पैसा छैन । उनीहरू ठूलो संकटमा छन्,’ ट्रम्पले क्युबा सरकार देश बचाउन सम्झौताका लागि हतास रहेको दाबी गर्दै भनेका थिए ।
सन् १९६२ को मिसाइल संकट (जतिबेला अमेरिकी आक्रमण निश्चितजस्तै थियो) पछि हवाना अहिले सबैभन्दा कडा दबाबमा छ । त्यतिबेला जस्तै अहिले पनि क्युबाले अमेरिकी नाकाबन्दीको सामना गरिरहेको छ । भेनेजुएलामा सैन्य कारबाही र मेक्सिकोमा भन्सार शुल्क लगाउने धम्की दिएर ट्रम्पले टापु राष्ट्र क्युबामा तेल भित्रिन ठप्प पारेका छन् । यसले कम्युनिष्ट सरकारको आफ्नै कमजोर आर्थिक नीतिका कारण थला परेको अर्थतन्त्रलाई थप धराशायी बनाएको छ ।
क्युबाली मूलका अमेरिकी विदेशमन्त्री मार्को रुबियो त्यहाँको नेतृत्वका कट्टर आलोचक हुन् । उनले हवानासँगको वार्ताको नेतृत्व गरिरहेका छन् । उनले आफ्नो करियरको यही क्षणको प्रतीक्षामा बिताएका छन् ।
जनवरीको मध्यतिर, क्युबाले भेनेजुएलाका नेता निकोलास मादुरोको रक्षा गर्दा मारिएका आफ्ना ३२ सैनिकको शव बुझ्यो । सो कार्यक्रममा क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले हवानास्थित अमेरिकी दूतावास अगाडि उभिएर ट्रम्प प्रशासनसामु कुनै पनि हालतमा नझुक्ने कसम खाएका थिए । 
तर, तेल नाकाबन्दीले थलिएका क्युबाका जनतामा मार पर्न थालेपछि सम्झौताका संकेतहरू देखिन थालेका छन् । वासिङ्टनमा चलेका हल्ला र सूचना चुहिएपछि क्युबाले वार्ता भइरहेको पुष्टि ग¥यो । सरकारले सरकारविरोधी प्रदर्शनका क्रममा थुनिएका ५१ कैदीलाई रिहा ग¥यो र विदेशमा बस्ने क्युबालीहरूलाई देशमा लगानी गर्न दिने गरी केही सुधारका कामहरू घोषणा ग¥यो ।
टेलिभिजनमा निकै थकित देखिएका डियाज–कानेलले केही दिनअघि मात्रै अस्वीकार गरेको वार्तालाई स्वीकार गर्दै भने, ‘जब–जब अमेरिकासँगको सम्बन्ध तनावपूर्ण हुन्छ, संवादका माध्यमहरू खोज्ने प्रयास सधैँ भएका छन् ।’
तर वार्ताको पुष्टि हुन नपाउँदै ट्रम्पले फेरि त्यसमा पानी फेरिदिए ।
‘क्युवा कब्जा गर्ने गौरव’
सोमबार, क्युबाभरि विद्युत आपूर्ति ठप्प भएको बेला ओभल अफिसमा रुबियोको साथमा रहेका ट्रम्पले घोषणा गरे, ‘मलाई लाग्छ क्युबा कब्जा गर्ने गौरव मैले पाउनेछु । म यसलाई स्वतन्त्र पारौँ वा कब्जा गरौँ, यो एउटा ठूलो सम्मान हो । म यसलाई जे पनि गर्न सक्छु ।’
रुबियोले पनि डियाज–कानेल र परिवर्तनका बाधक ठानिएका अधिकारीहरूले पद छोड्नुपर्ने प्रशासनको माग रहेको पुष्टि गरे । ट्रम्पले क्युबाको मौसमको प्रशंसा गर्दै यो टापु ‘हरिकेन’ (सामुद्रिक आँधी) को क्षेत्रमा नपर्ने अनौठो र गलत दाबीसमेत गरे, जबकि क्युवा फ्लोरिडाबाट मात्र ९० माइल टाढा छ ।
यस्ता टिप्पणीले क्युवाका कट्टरपन्थीहरूलाई फाइदा पु¥यायो । उनीहरुले अमेरिकाको अन्तिम लक्ष्य क्युबालाई आफ्नो देशमा गाभ्नु हो भन्दै आएका थिए । डियाज–कानेलले ट्रम्पको दाबीको कडा जवाफ दिँदै ‘एक्स’मा लेखे, ‘कुनै पनि बाह्य आक्रमणकारीले अभेद्य प्रतिरोधको सामना गर्नुपर्नेछ ।’
नेतृत्व कसले गर्ने भन्ने कुरा अमेरिकालाई रोज्न दिनु आत्मसमर्पण सरह हुने क्युबाली अधिकारीहरूको भनाइ छ । क्युबाका वरिष्ठ कूटनीतिज्ञ कार्लोस फर्नान्डेज डी कोसियोले पत्रकारहरूसँग भने, ‘राष्ट्रपति वा क्युबाका कुनै पनि नेताको पद अमेरिकासँगको वार्ताको विषय हुन सक्दैन ।’
अहिले क्युबामा एउटा अनौठो दृश्य देखियो, देशका प्रख्यात गायक सिल्भियो रोड्रिग्वेजले राष्ट्रपति र सेनाका अधिकारीहरूसँगै मेसिन गन लिएको तस्बिर सार्वजनिक भयो । ‘क्युबाका बब डिलन’का रुपमा प्रख्याति पाएका ७९ वर्षीय रोड्रिग्वेजले हालैका वर्षहरूमा सरकारको आलोचना गरे पनि अहिले उनी देशको प्रतिरक्षाका लागि हतियार उठाउन तयार देखिएका छन् ।
क्युबा थकाउने रणनीति
तनाव बढे पनि क्युबाली अधिकारीहरूले वार्ता जारी राख्ने बताएका छन् । विदेशमन्त्री ब्रुनो रोड्रिग्वेज पारिलाले शनिबार एक कार्यक्रममा भने, ‘हामी आन्तरिक मामिलामा हस्तक्षेप नगरी अमेरिकासँग गम्भीर र जिम्मेवार संवादका लागि खुला छौँ ।’
क्युबाको रणनीति अहिले वार्ता गरेर समय लम्ब्याउने देखिएको छ । सायद नोभेम्बरमा हुने अमेरिकी चुनावसम्म यो क्रम जारी रहनेछ । त्यसपछि डेमोक्रेट्सहरूले कंग्रेसमा पुनरागमन गर्न सक्छन् । तर उनीहरूसँग कति समय छ भन्ने प्रस्ट छैन किनभने ट्रम्पले यसअघि भेनेजुएला र इरानसँग वार्ता भइरहँदा नै ती देशहरूमा आक्रमणको आदेश दिएका थिए ।
यसैबीच, ट्रम्प प्रशासनले ९४ वर्षीय पूर्व क्युबाली नेता राउल क्यास्ट्रोमाथि पुराना आरोपहरूमा मुद्दा चलाउन सक्ने रिपोर्टहरू आएका छन् । यदि क्यास्ट्रोमाथि मुद्दा चलाइएमा कूटनीतिक समाधानको सम्भावना पूर्ण रूपमा समाप्त हुनेछ ।
सुरुमा ट्रम्पले ओबामाको पालाको जस्तै आर्थिक खुलापनको प्रस्ताव गरेको देखिए पनि अहिले उनको वास्तविक उद्देश्य फिडेल क्यास्ट्रोले सुरु गरेको क्रान्तिलाई नै समाप्त पार्नु हो भन्ने स्पष्ट भएको छ ।
तर धेरै क्युबालीहरूका लागि समाजवादी प्रणालीले दिने सुविधाहरू धेरैअघि नै समाप्त भइसकेका छन् । रासन प्रणालीमा निकै कम सामग्री आउँछ, स्वास्थ्य र शिक्षा प्रणाली कमजोर भएको छ । रातभर बिजुली हँुदैन र सडकमा फोहोर थुप्रिएका छन् ।
खस्किँदो अवस्थाबाट आक्रोशित क्युबालीहरू अहिले सरकारविरोधी प्रदर्शनमा उत्रिन थालेका छन् । सरकारले निषेध गरेको भए पनि उनीहरुले निषेधित क्षेत्र तोड्दै छन् । एकातिर ट्रम्प प्रशासन छिट्टै सम्झौता हुने आश्वासन दिइरहेको छ भने अर्कोतिर क्युबा सरकार विदेशी आक्रमणको तयारी गरिरहेको छ । तर सम्भवतः यी दुवै कुरा नहुन सक्छन् । बरु, कडा आर्थिक नाकाबन्दीका कारण यो टापु राष्ट्र बिस्तारै ओइलाउँदै जान सक्ने खतरा बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्