नेभिगेशन
विश्व

भोट नदिनुस् भनें तर जिताइदिए

फ्रांकफर्ट । जर्मनीको एउटा गाउँका मेयरले मानिसहरूसँग अपिल गर्दै आफूलाई भोट नदिन आग्रह गरिरहेको थिए तर गाउँलेहरू भने उनलाई नजिताई नछोड्ने मूडमा थिए । अन्ततः अनिच्छाका बाबजुद उनी मेयर भइछाडे । वास्तवमा, मेयरले त चुनाव नै लडेका थिएनन्, तैपनि आधा मानिसहरूले भने उनकै नाममा भोट हालेर मेयरलाई विलखबन्दमा पारिदिए ।
यो कथा जर्मनीको दक्षिणी प्रान्त बभेरियामाको हो, जहाँ गत हप्ता स्थानीय चुनाव सम्पन्न भयो । सामान्यतया स्थानीय चुनाव आफ्नै इलाकाबाहिर चर्चाको विषय बन्दैन तर लोअर फ्रान्कोनियाको मिटेलसिन गाउँका मेयरले चुनाव नलडेर पनि जबरजस्ती मेयर बनाइएका कारण चर्चामा छ । 
लोअर फ्रान्कोनियाको मिटेलसिन गाउँ एक प्रख्यात गाउँ हो । यसले जर्मनीको ‘क्रिसमस ट्री भिलेज’को उपाधि पाएको छ । क्रिसमसको समयमा यहाँका गल्ली, चोक, कार्यालय र घरहरूमा सजावटका लागि क्रिसमस ट्री राखिन्छन् र यसको ठूलो परिमाणमा हुने उत्पादनका कारण मिटेलसिन विख्यात छ ।
फ्रान्कफर्टबाट करिब डेढ घण्टाको दूरीमा रहेको मिटेलसिन ‘सिन’ नदीको किनारमा अवस्थित छ । यो गाउँको अर्थ ‘मध्य सिन’ हुन्छ । ७० किलोमिटर लामो सिन नदीको नामको पनि एउटा रोचक कथा छ । धेरै समयसम्म यो नाम सबैभन्दा पहिले दर्ता भएको ‘सिना’ नामबाट आएको मानिदै आयो । ‘सिना’को उत्पत्ति प्राचीन भारतीय शब्द ‘सिन्धु’बाट भएको मानिन्छ, जसको अर्थ नदी हुन्छ । जर्मन र संस्कृत दुवै भारोपेली (इन्डो–जर्मन) भाषा समुदायका हिस्सा हुन्, त्यसैले यसलाई स्वीकार गर्न कसैलाई आपत्ति थिएन ।
कहाँबाट आयो गाउँको नाम ?
नदीहरूको नामको उत्पत्तिमा भइरहेको शोधमा अहिले यसमाथि शंका गर्न थालिएको छ । शोधकर्ताहरू भन्छन् कि यो शब्द प्राचीन केल्ट र जर्मन ‘सेन्ट’ शब्दबाट बनेको हुन सक्छ जसको अर्थ ‘हिँड्नु’ हुन्छ । यसरी तीनवटै भाषाहरूमा सिनको अर्थ ‘बग्ने’ अर्थात् नदी नै हुन्छ । यसैबीच, यो शब्दको उत्पत्ति ‘सानिया’ बाट भएको पनि मानिदै छ, जसको अर्थ सेल्ट र ल्याटिन भाषाहरूमा ‘दलदल’ हुन्छ । अब यो नाम जहाँबाट आएको भए तापनि, सन् ७८० का लिखित दस्तावेजहरूमा ‘सिना’ र सन् १६०७ तथा १८०२ मा ‘सिन’ नामको उल्लेख पाइन्छ भन्ने कुरा निश्चित छ ।
मिटेलसिनमा करिब ८०० मानिसहरू बसोबास गर्छन् । यहाँ सन् १८६४ देखि नै मेयरको चुनाव हुँदै आएको छ र हालसम्म १८ जना मेयर भइसकेका छन् । पछिल्लो मेयर डिर्क शीफर हुन् जो २०२३ मा चुनिएका थिए । सन् २०२० को तथ्याङ्कअनुसार गाउँमा ३४५ जना जागिरे मानिसहरू बस्छन् भने त्यहाँका कृषि उद्यमहरूमा ११८ जना पूर्णकालीन काम गर्छन् । गाउँमा एउटा रेलवे स्टेशन पनि छ ।

र यही स्टेशनले गाउँका मेयर डिर्क शीफरलाई जर्मनीको रेल कम्पनी ‘डयचे बान’सँग जोड्छ । शीफर पेसाले रेलवे ड्राइभर हुन् र हाल इन्जिनहरूको रेखदेख गर्ने टोलीका इन्स्पेक्टर छन् । मिटेलसिनका गाउँका मुखिया, जसलाई जर्मनमा ‘बुर्गरमाइस्टर’ र अ‌ंग्रेजीमा ‘मेयर’ भनिन्छ, यो एउटा मानार्थ पद हो र यस कामका लागि उनले कुनै तलब पाउँदैनन् । पछिल्लो तीन वर्षमा डिर्क शीफरले के महसुस गरे भने पूर्णकालीन जागिर खानु र गाउँको मेयर हुनु दुवै सजिलो काम होइन ।

क्रिसमस ट्रीका लागि प्रसिद्ध
मिटेलसिन गाउँ पुगेपछि जहाँसम्म नजर पुग्छ, त्यहाँ क्रिसमस ट्री मात्र देखिन्छन् । भनिन्छ, यहाँको माटो यस्तो छ कि यसमा अरू केही उब्जनी हुँदैन तर क्रिसमस ट्री भने निकै राम्रोसँग हुर्कन्छन् । यही कारणले यो क्षेत्र क्रिसमसको समयमा प्रयोग हुने रूख–बिरुवाहरूको उत्पादन र बिक्रीको मुख्य केन्द्र बनेको छ । गाउँका उद्यमी र राजनीतिज्ञहरूले यसको फाइदा उठाएका छन् र गाउँलाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाएका छन् । डिसेम्बर महिनामा यहाँ क्रिसमसभन्दा ठीकअघि दुई पटक क्रिसमस मेला लाग्छ जहाँ मुख्य कारोबार क्रिसमस ट्रीको बिक्री नै हुन्छ तर मेलामा खानपिनको पनि राम्रो प्रबन्ध मिलाइएको हुन्छ ।
अब तलबै नपाइने मेयरको पदमा सर्वसाधारणले जिताएपछि भने उनी रनभुल्लमा परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्