नेभिगेशन
प्रदेश

आलु किसानका द्विविधाः खनौं भाउ छैन, नखनौं कुहिने डर छ

काभ्रेपलाञ्चोक । यतिबेला खेतबारीबाट आलु खन्ने बेला हो । जिल्लाका अधिकांश कृषक यसका व्यस्त छन् । उत्पादन पनि बढेको छ तर, बजारभाउ छैन । किसान चिन्तित छन् ।
तरकारी उत्पादनमा कहलिएका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा अहिले किसान धमाधम आलु खनिरहेका छन् । खेतका गह्राभरि आलुका बोरा ठडिएका छन् । सडक छेउमा पनि आलुको चाङ लागेको देखिन्छ । तर किसान भने खुसी देखिएका छैनन् । बजार मूल्य खस्किँदो छ । खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । 
‘आलुको भाउ त घटेकै छ, तर व्यापारी पनि खेतबारीमा आउँदैनन्, व्यापारीलाई आफैं बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ,’ पाँचखाल–६ ढुंगानाबेंसीका रामेश्वर सापकोटाले भने । उनका अनुसार अहिले आलु प्रतिकिलो ७ देखि १० सम्ममा बिक्री भइरहेको छ ।
सस्तोमा बिक्री गर्नुपर्दा किसान आलु खन्ने÷नखन्ने अलमलमा देखिन्छन् । सापकोटा भन्छन्, ‘खनौं भाउ छैन, नखनौं कुहिने डर छ ।’ यस वर्ष आलुको मूल्य घटेकाले लागत उठ्न हम्मेहम्मे हुने देखिएको उनले बताए । केही किसानले आफैं काठमाडौंको कालीमाटीस्थित तरकारी बजार लैजाँदा आलु नबिकेकाले व्यापारीकै भाउमा छाडेर आउनुपरेको छ । यसकारण पनि किसानको लगानी जोखिममा परको छ ।
अन्य बालीको तुलनामा आलुखेतीमा लागत खर्च बढी हुने गर्दछ । जमिन तयारी, प्रांगारिक तथा रासायनिक मल, आलुको बिउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब गर्दा प्रतिकिलो १८ देखि २० रुपैयाँसम्म पर्छ । बितेका वर्षमा यही बेला किलोको २८ देखि ३५ रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । 
‘छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई किलोको १० रुपैयाँसम्ममा बेचियो, तर पैसा समयमै पाइने÷नपाइने चिन्ताकै अवस्था छ,’ स्थानीय विजय पराजुलीले भने । 
पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब ६३ करोड ७० लाख रुपैयाँको हाराहारीमा आम्दानी गुमाउने आकलन गरिएको छ । सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, सरकारबाट बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्नसके किसानको समस्या हल हुनसक्ने स्थानीय दामोदर अधिकारीको भनाइ छ ।
मण्डनदेउपुर नगरमा किसान झरी, बादल, घाम नभनी धमाधम आलु खनिरहेका छन् । मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षीय पशुपति श्रेष्ठ भन्छन्, ‘यसपालि आलु पोहोरभन्दा झण्डै दोब्बरले फलेको छ, तर भाउ भने घटिरहेको छ । किसानलाई दुःख छ ।’ 
ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिकरूपमा आलुलगायत तरकारीखेती गर्ने किसानको संस्ख्या बढिरहेको छ । उक्त फाँटमा यस सिजनमा दुई सय रोपनी जग्गामा आलु रोपिएको स्थानीय किसान नारायण श्रेष्ठले बताए । उनले करिब १२ रोपनी जमिनमा आलु रोप्न थालेको पाँच वर्ष भइसक्यो । 
‘पोहोर ६० बोरा जति फलेको जग्गामा यसपालि १२० बोराभन्दा बढी फलेको छ, अहिले भाउ पोहोरको भन्दा तेब्बरले घट्यो,’ उनले भने । यतिबेला मण्डनदेउपुरका ज्वाँनेटार, जोगिटार, माइटार, कुन्ताबेंसी तथा चाखोलाका हजारौं रोपनीमा आलुखेती छ । 
जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेमा बर्सेनि ९ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर काठमाडौंको बजारमा पु¥याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेबाटै थेगिएको तथ्यांक छ । यसमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडी बताउँछन् । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्