नेभिगेशन
शिक्षा

‘ध्यान केन्द्रजस्तै हो पुस्तकालय’

६० वर्षीय अमेरिकी लेखक जर्ज आआर मार्टिनले पुस्तक पठनमाथि दिएको अभिव्यक्ति कालजयी छ । मार्टिनले भनेका छन्, ‘पुस्तक पढ्ने मान्छेले मर्नुअघि हजार जीवन बाँच्छ । जसले पढ्दैन, ऊ एउटै मात्र जीवन बाँच्छ ।’

आखिर प्रत्येक पुस्तकले हामीलाई भिन्न जीवन, भिन्न परिवेश र भिन्न भूगोलमा विचरण गराउँछ । नियमित पुस्तकालय जाने बानीले मानिसमा पठन प्रति रुचि जाग्छ । हामी धेरैले पुस्तकालय पढ्ने बानी लगाएका होलाउँ । कोही नियमित पुसतकालय जाऔंला । केहीले घरमै पुस्तकालय बनाएका हौंला । अहिले त काठमाडौं लगायत देशका अन्य शहरबजारमा पुस्तकालय छायाँमा परेको प्रतीत हुन्छ । विगतमा काठमाडौंमा पनि धेरै पुस्तकालय थिए । 

टोलटोलमा पनि वाचनालय र सामुदायिक पुस्तकालय थिए । ज्ञानको केन्द्रका रुपमा रहेको पुस्तकालयको महत्व मानव सभ्यता रहेसम्म रहिरहनेछ । अहिलेको बदलिँदो परिस्थितिमा युग सुहाउँदो ढुंगमा पुस्तकालयलाई अघि बढाउनुपर्ने खाँचो छ । पुस्तकालयका यिनै विविध आयाम र पक्षका बारेमा काठमाडौंमा शुक्रबार चर्चा भयो । पुस्तकालय दिवसको अवसरमा पिपुल्स क्याम्पसमा आयोजित कार्यक्रममा वक्ताहरूले पुस्तकालयको महत्व र भूमिकाबारे चर्चा गरे ।

कार्यक्रममा वक्ताहरूले आफ्नो रुचिलाई पेशामा बदल्न, आफूले अँगालेको पेशामा सफल हुन र समाजमा सकारात्मक प्रभाव छोड्न पठन संस्कृति आवश्यक पर्ने बताए । ‘यो काममा हामीलाई सहयोग गर्ने थलो भनेको पुस्तकालय हो,’ क्याम्पसका प्राचार्य मनोज कुँवरले भने, ‘तर अहिले पुस्तकालय जाने संस्कृति नै हराउला कि भन्ने डर छ ।’ त्यही भएर पनि क्याम्पसले १८ औं पुस्तकालय दिवसको अवसरमा सचेतना जगाउन कार्यक्रम गरेको उनले जनाए । 

‘पुस्तकालय जानु ध्यान केन्द्र जानुजस्तै हो,’ क्याम्पसका सहायक प्राचार्य राजेश पण्डितले भने । पुस्तकालय गएर नपढे पनि त्यहाँको शून्यता र भव्यतालाई महसूस गर्नसक्दा जीवनलाई सुसंस्कृति बनाउने आधार पाइने तर्क उनको थियो । सार्वजनिक पुस्तकालय सञ्चालनमा केही चुनौती रहेको बताउँदै नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले देशभर ९२८ सार्वजनिक तथा सामुदायिक पुस्तकालय रहे पनि २२७ मात्रै पूर्ण रुपमा सञ्चालनमा रहेको बताए । 

‘सामुदायिक पुस्तकालयले महिला सशक्तीकरण र समाज रुपान्तरणमा सकारात्मक प्रभाव पारेको छ,’ उने भने, ‘अबका दिनमा पुस्तकालयलाई ज्ञान र आनन्दको केन्द्र बनाउनुपर्ने चुनौती देखिएको छ । कार्यक्रममा पुस्तकालय विज्ञ जानकी कर्माचार्य, रेश्मा डंगोल, प्राध्यापक प्रमोद शर्मा, शिक्षा मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, त्रिवि केन्द्रीय पुस्तकालयका विजय शर्माले पुस्तकालयको महत्वका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्