नेभिगेशन
खेलकुद
प्रधानमन्त्री कप क्रिकेट

एपीएफको प्रभावशाली जित, आसिफको शतकमा बागमती ७१ रनले पराजित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले प्रभावशाली प्रदर्शन गर्दै बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको छ । काठमाडौंस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले दिएको २७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमा समेटिएपछि एपीएफ विजयी बनेको हो ।
२७२ रनको चुनौतीपूर्ण लक्ष्यसहित मैदान उत्रिएको बागमती प्रदेशको सुरुआत मध्यम भए पनि नियमित अन्तरालमा विकेट गुमाउँदा टोली लक्ष्यसम्म पुग्न सकेन । बागमतीका लागि विवेक मगरले सर्वाधिक ३४ रन बनाए भने सुबास खत्रीले २७ रन जोडे । उत्तम मगरले २६ रन बनाए भने रिजन ढकालले अविजित २० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले ठूलो साझेदारी बनाउन नसक्दा बागमती दबाबमा परेको थियो ।
बलिङतर्फ एपीएफका कप्तान रोहित पौडेल र अभिषेक गौतमले उत्कृष्ट प्रदर्शन गर्दै तीन–तीन विकेट लिए । युवराज खत्री, नन्दन यादव र कमलसिंह ऐरीले समान एक–एक विकेट लिएर बागमतीको पारी समेट्न महŒवपूर्ण भूमिका खेले । एपीएफका बलरहरूले सुरुदेखि नै किफायती बलिङ गर्दै विपक्षीलाई दबाबमा राखेका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । एपीएफको जितमा ओपनर आसिफ शेखको उत्कृष्ट शतक निर्णायक बन्यो । उनले ११४ रन बनाउने क्रममा १४ चौका र तीन छक्का प्रहार गर्दै बागमतीका बलरहरूलाई दबाबमा राखेका थिए । आसिफले संयमित र आक्रामक ब्याटिङको सन्तुलन कायम राख्दै टोलीलाई बलियो अवस्थामा पु¥याएका थिए ।
आसिफलाई सन्दीप जोराले राम्रो साथ दिए । जोराले ५२ रनको महŒवपूर्ण अर्धशतक बनाउँदै मध्यमक्रम सम्हाले । लोकेश बमले २९ रन जोडे भने युवराज खत्री २६ रनमा अविजित रहे । कप्तान रोहित पौडेलले नौ रन बनाए । सुरुआती विकेट गुमाएपछि एपीएफले मध्यमक्रममा साझेदारी बनाउँदै ठूलो योगफल तयार पारेको थियो ।
बलिङतर्फ बागमती प्रदेशका रिजन ढकाल सबैभन्दा सफल रहे । उनले चार विकेट लिएर एपीएफको रनगति रोक्ने प्रयास गरे । इसान पाण्डेले दुई विकेट लिए भने सन्दीप लामिछाने र सोनु देवकोटाले समान एक–एक विकेट हात पारे ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा यस वर्ष तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबका साथै सातै प्रदेशका टोली सहभागी छन् । कुल १० टोली सहभागी रहेको प्रतियोगितालाई नेपाली घरेलु क्रिकेटको सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिताका रूपमा लिइन्छ ।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक प्रतियोगिता तालिकाअन्तर्गत आयोजना हुने प्रधानमन्त्री कपलाई राष्ट्रिय टोली छनोटका लागि पनि महŒवपूर्ण प्रतियोगिता मानिन्छ । यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय टोली तथा ‘ए’ टोलीमा अवसर दिइने प्रचलन रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले रु १० लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु पाँच लाख पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई पुरस्कार प्रदान गरिने व्यवस्था छ ।
प्रतियोगिता शनिबारदेखि सुरु भएको हो र लिग चरणपछि उत्कृष्ट टोलीहरू सेमिफाइनल तथा फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा विभागीय टोलीहरूलाई उपाधिको दाबेदार मानिएको छ भने प्रदेश टोलीहरूले पनि यसपटक कडा चुनौती दिने अपेक्षा गरिएको छ ।
एपीएफले प्रतियोगिताको सुरुआती खेलमै जित निकाल्दै अंकतालिकामा महŒवपूर्ण दुई अंक जोडेको छ भने बागमती प्रदेश पहिलो खेलमै पराजित भएपछि दबाबमा परेको छ । आगामी खेलहरूमा प्रदर्शन सुधार्नुपर्ने चुनौती बागमतीसामु देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्