नेभिगेशन
खेलकुद

४५ हजार शुल्कको विवादले खेल स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको समन्वय अभावका कारण चैत १२ गते हुने भनिएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।
एन्फाले एक विज्ञप्ति जारी गर्दै राखेपले दशरथ रंगशाला र अन्य आवश्यक पूर्वाधार उपलब्ध नगराएका कारण खेल रोक्नुपरेको दाबी गरेको छ । एन्फाका अनुसार फागुन १० र चैत ३ गते खेल मैदानका लागि पत्राचार गर्दा पनि राखेपबाट अनुमति प्राप्त भएन ।
तर, राखेपको पत्रले भने अर्कै तथ्य सार्वजनिक गरेको छ। राखेपले फागुन २६ गते नै एन्फालाई पत्र पठाउँदै रंगशाला उपलब्ध गराउने निर्णय भइसकेको जानकारी दिएको थियो । राखेपले नियमानुसार लाग्ने साउन्ड सिस्टम, फ्लडलाइट र स्कोर बोर्डको कुल ४५ हजार रुपैयाँ शुल्क बैंकमा जम्मा गरी भौचर बुझाउन एन्फालाई आग्रह गरेको देखिन्छ ।
राखेपका अनुसार उक्त शुल्क बुझाएपछि मात्रै मैदान प्रयोग गर्न दिइने सर्त राखिएको थियो । तर, एन्फाले सो प्रक्रिया पूरा नगरेको वा शुल्क नबुझाएका कारण अन्तिम समयमा आएर खेल नै स्थगित हुन पुगेको हो ।
एउटा महŒवपूर्ण अन्तर्राष्ट्रिय खेल सामान्य प्राविधिक र आर्थिक प्रक्रियामा अल्झिएर रोकिनुलाई खेलप्रेमीहरूले निकै दुःखद घटनाका रूपमा लिएका छन् ।  यस घटनाले नेपाली खेलकुदका दुई प्रमुख निकायबीच आपसी समन्वयको कति ठूलो खाडल छ भन्ने कुरा प्रस्ट पारेको छ ।
खेल स्थगन भएपछि सामाजिक सञ्जालमा नेपाली फुटबल खेल नै सिध्याउन लागिपरेको भनी रोष प्रकट गरिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्