नेभिगेशन
प्रदेश

रातारात रुख काटेर काठ चोर्ने समूह सक्रिय

गुल्मी । गुल्मीमा खयरका काठ चोरी तस्करीका घटना बढ्दै गएका छन् । व्यक्तिगत र सामुदायिक वनबाट बहुमूल्य खयरका काठ संगठितरूपमा चोरी हुन थालेपछि निगरानी बढाइएको छ ।
गत फागुन २९ गते राति रुरुक्षेत्र गाउँपालिका–६ को शाहघाटबाट स्थानीय सागर पाण्डेको खयरको काठ चोरी भएको थियो । उनको जग्गामा कटान गरी घाटगद्दी गरेर राखिएको करिब एक ट्र्याक्टर खयरको काठ चोरी भएको इलाका प्रहरी कार्यालय रिडीले पुष्टि गरेको छ ।
त्यसअघि गत पुस महिनामा पनि सत्यवती गाउँपालिका–२ को कालीगण्डकी सामुदायिक वनमा कटान गरेर घाटगद्दी गरेको एक ट्र्याक्टर खयरको काठ चोरी भएको थियो । त्यस्तै गत फागुन १७ गते कालीगण्डकी गाउँपालिका–२, राक्सेमा निजी जग्गाबाट निकालिएको झण्डै एक ट्र्याक्टर काठ पनि चोरी भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । 
सत्यवती गाउँपालिका– ४ र ५ मा पनि व्यक्तिगत जग्गामा रहेका खयरका रुख रातारात कटान गरी चोरी भइरहेको गुनासो आएपछि र जिल्ला प्रहरी कार्यालय गुल्मी र डिभिजन वन कार्यालय गुल्मीले संयुक्तरूपमा निगरानी बढाउँदै चोरीमा संलग्नको खोजी गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार खयरका काठ चोरीका घटनामा संलग्न रहेको आशंकामा अहिलेसम्म सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय रिडीले अन्य केही शंकास्पद देखिएका व्यक्तिमाथि पनि अनुसन्धान गरिरहेको छ ।
जिल्लाको कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, चन्द्रकोट र गुल्मीदरबार क्षेत्रमा व्यक्तिगत र सामुदायिक वनमा खयर उत्पादन हुँदै आएको छ । बजारमा खयरको काठको मूल्य उच्च छ । खयरको काठ विशेष गरी कत्था, रङ र आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्छ ।
डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन प्राविधिक कमल रेग्मीले गुल्मीबाट गत वर्ष करिब ६४ हजार क्युफिट काठ जिल्लाबाहिर निकासी भएको जनाए । सो निकासीबापत ९६ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको रेग्मीले जानकारी दिए ।
स्थानीय किसानले व्यक्तिगत जग्गामा उत्पादन गरेको खयर काठ वन कार्यालयबाट अनुमति लिएर भ्याट तिरेर बिक्री गर्दै आइरहेका छन् । किसानले खयर काठ प्रतिकेजी ७० देखि ९० रुपियाँसम्ममा भैरहवा र नेपालगञ्जमा बिक्री गर्दै आएका छन् ।
डिभिजन वन कार्यालय गुल्मीका प्रमुख दयाराम पौडेलले घटना स्थलमा पुगेर सीसीटीभी फुटेजका आधारमा चोरीमा संलग्नको अनुसन्धान गरिरहेको बताए । शंकास्पद स्थानका सन्दिग्ध व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्