नेभिगेशन
प्रदेश

हरिखेतान क्याम्पसको विवादले वीरगञ्जमा तनाव

पर्सा । हरिखेतान बहुमुखी क्याम्पसको व्यवस्थापन–शिक्षक विवादले वीरगञ्ज आइतबार दिनभर शहर तनावग्रस्त बन्यो । क्याम्पस प्रशासनले आइतबारदेखि कक्षा ११ र १२ को परीक्षा तय गरेको थियो तर आन्दोलनरत शिक्षकका कारण परीक्षा स्थगित गरिएपछि विद्यार्थीलाई क्याम्पसको मूल गेटमै रोकियो । आक्रोशित विद्यार्थीहरू गेटअगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।
प्रदर्शनका क्रममा एक विद्यार्थी घाइते भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस अगाडिबाट नाराबाजी गर्दै घण्टाघर चोकसम्म प्रदर्शन गरे । प्रदर्शनकारीले क्याम्पसको बसमा तोडफोड गर्नुका साथै सडक किनारमा रोपिएका बिरुवाहरू समेत नष्ट गरेका थिए ।
क्याम्पस व्यवस्थापन र शिक्षकबीचको विवादका कारण नियमित पठनपाठन र आन्तरिक परीक्षा प्रभावित हुँदै आएको थियो । विद्यार्थीहरूले सामुदायिक क्याम्पसलाई निजी स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाउँदै व्यवस्थापन–शिक्षक द्वन्द्वले विद्यार्थीको भविष्य नै संकटमा परेको बताएका छन् । व्यवस्थापन पक्षले भने शिक्षकहरूले अनुचित माग राख्दै विद्यार्थीलाई उक्साएर शैक्षिक वातावरण बिगारेको आरोप लगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा सरोकारवालाहरूबीच छलफल भएपछि तीन बुँदे सहमति कायम गरिएको छ । सहमति अनुसार स्थगित परीक्षा र पठनपाठन तत्काल सञ्चालन गरिने, आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पस प्रशासनले गर्ने सहमति भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्