नेभिगेशन
उपत्यका

नेपाली मूलका विदेशीलाई छुट्टै डेस्क

काठमाडौं । नेपाली मूलका विदेशी नागरिक एवम् गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा आएको छ ।
विमानस्थल अध्यागमन कार्यालयले आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिसा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्क व्यवस्था गरिएको थियो । अब नेपाली मूलका विदेशी नागरिकलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
अध्यागमन विभागको आइतबारको निर्णयअनुसार अध्यागमन कार्यालयको आगमन र प्रस्थानतर्फ नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै लाइन र अध्यागमन डेस्कको व्यवस्था गरिएको अध्यागमन कार्यालयद्वारा जारी विज्ञप्तिमा छ ।
विश्वमा रहेका नेपाली मूलका नेपालीहरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले यसका लागि लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । गृह प्रशासनले आइतबार यो निर्णय गरेपछि संस्थाले स्वागत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्