नेभिगेशन
विश्व

अल निनो सक्रिय हुने खतरा

न्यू योर्क । संयुक्त राष्ट्रसंघको मौसमसम्बन्धी निकायले पृथ्वीको जलवायु इतिहासमै सबैभन्दा असन्तुलित अवस्थामा आइपुगेको चेतावनी दिएको छ । विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार पृथ्वीले यतिबेला उत्सर्जित गर्न सक्नेभन्दा धेरै तापको ऊर्जा सङ्कलन गरिरहेको छ । यस्तो हुनुमा कार्बन डाइअक्साइडजस्ता तातो बढाउने ग्यासको अत्यधिक उत्सर्जन प्रमुख रहेको बताइएको छ ।
यो अभूतपूर्व ‘ऊर्जा असन्तुलन’का कारण गत वर्ष समुद्रको तापक्रम नयाँ उचाइमा पुगेको छ र पृथ्वीका हिमचट्टानहरू तीव्र रूपमा पग्लिरहेका छन् । वैज्ञानिकहरूका अनुसार यसै वर्षपछि सुरु हुने अनुमान गरिएको प्राकृतिक तापीय चक्र ‘अल निनो’ले अझै बढी तापक्रम रेकर्ड तोड्न सक्ने खतरा छ ।
प्रतिवेदन सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूलाई जीवाश्म इन्धनबाट हटेर नवीकरणीय ऊर्जातर्फ जान पुनः आह्वान गर्दै भनेका छन्, ‘जलवायु सुरक्षा, ऊर्जा सुरक्षा र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न हामीले तत्काल ऊर्जा रूपान्तरण गर्नुपर्छ । पृथ्वीलाई यसको सीमाभन्दा बाहिर धकेलिँदै छ । जलवायुसम्बन्धी प्रत्येक प्रमुख सूचक रातो संकेत देखाइरहेको छ ।’
डब्लुएमओका अनुसार सन् १८५० यता रेकर्ड राख्न थालेपछि पछिल्ला ११ वर्ष पृथ्वीका सबैभन्दा ताता वर्षहरुमा परिणत भएका छन् । गत वर्ष सन् २०२५ मा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघि अर्थात् जब मानिसले ठूलो मात्रामा जीवाश्म इन्धन प्रयोग गर्न थालेका थिएनन् तयो बेलाको को तुलनामा करिब १.४३ डिग्री सेल्सियस बढी थियो । 
प्राकृतिक ‘ला निना’ प्रभावका कारण २०२५ को तापक्रम २०२४ भन्दा केही कम भए पनि, गत वर्ष अझै पनि इतिहासकै तीन सबैभन्दा तातो वर्षमध्ये एक रह्यो । धेरै वैज्ञानिकले तापक्रम बढ्ने गति तीव्र हुँदै गएको बताएका छन् । डुब्लुएमओले जलवायु परिवर्तन पहिलेभन्दा धेरै छिटो भइरहेको प्रमाणका रूपमा पृथ्वीले सङ्कलन गरिरहेको अतिरिक्त ताप ऊर्जालाई सबैभन्दा महŒवपूर्ण मापन मानेको छ । गत वर्ष यो ‘ऊर्जा असन्तुलन’ नयाँ उच्च स्तरमा पुगेको संगठनले जनाएको छ ।
वैज्ञानिकहरूले यो अतिरिक्त ताप किन बढ्दै गएको भन्ने पूर्ण रूपमा नबुझे पनि, कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यास नै यसको मुख्य कारण भएकोमा कुनै शंका छैन भनेका छन् । मानव गतिविधि, विशेष गरी जीवाश्म इन्धनको प्रयोगका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा कम्तीमा पनि पछिल्ला २० लाख वर्षयताकै उच्च स्तरमा पुगेको डब्लुएमओले जनाएको छ । यी ग्यासहरूले थुनेको अतिरिक्त ऊर्जा वायुमण्डल र भूमिलाई तातो बनाउने मात्र होइन, पृथ्वीका हिमनदीहरू पग्लाउने काम पनि गरिरहेको छ ।
अस्थायी तथ्यांकअनुसार २०२४÷२५ मा विश्वका हिमनदीहरूका लागि इतिहासकै पाँच सबैभन्दा खराब वर्षमध्ये एक रह्यो । त्यस्तै, २०२५ भरि दुवै ध्रुव क्षेत्रमा समुद्री बरफको मात्रा रेकर्डकै न्यून वा न्यून नजिक रह्यो । पृथ्वीले सङ्कलन गरेको अतिरिक्त ऊर्जामध्ये ९० प्रतिशतभन्दा बढी समुद्रले सोस्ने भएकाले समुद्री जीवजन्तुमा असर पर्ने, आँधी–तूफान तीव्र हुने र समुद्री सतह बढ्ने समस्या देखिएको छ ।
विश्वका महासागरको माथिल्लो २ किलोमिटर तहमा सञ्चित ताप ऊर्जा गत वर्ष नयाँ उच्च स्तरमा पुगेको छ र पछिल्ला दुई दशकमा यो २०औँ शताब्दीको अन्त्यतिरको तुलनामा दोब्बर गतिमा बढेको छ ।
डब्लुएमओकी महासचिव प्रोफेसर सेलेस्टे साउलोले भनिन्, ‘मानव गतिविधिले प्राकृतिक सन्तुलनलाई झन् बढी बिगारिरहेको छ, र यसको असर हामीले सयौँदेखि हजारौँ वर्षसम्म भोग्नुपर्नेछ ।’ प्रतिवेदनले बढ्दो तापक्रमका कारण चरम मौसमीय घटना तीव्र हुँदै गएको र डेंगुजस्ता रोग फैलिन मद्दत पुगेको पनि जनाएको छ । हाल अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा सिजनको सुरुमै ऐतिहासिक गर्मी लहर देखिएको छ, जहाँ तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जुन सामान्यभन्दा १०–१५ डिग्री बढी हो ।
वैज्ञानिकहरूको विश्व मौसम विश्लेषण समूहले यस्तो तापमान मानव–निर्मित जलवायु परिवर्तन बिना ‘लगभग असम्भव’ हुने निष्कर्ष निकालेको छ । अनुसन्धानकर्ताहरू अहिले प्रशान्त महासागरको अवस्थालाई नजिकबाट हेरिरहेका छन्, किनकि दीर्घकालीन पूर्वानुमानले सन् २०२६ को दोस्रो भागमा ‘अल निनो’ सुरु हुने बलियो संकेत देखाएको छ । यदि मानव–निर्मित तापक्रम वृद्धिसँगै देखियो भने, सन् २०२७ सम्म तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूको चेतावनी छ । डब्लुएमओका डा. जोन केनेडीका अनुसार, ‘यदि ‘अल निनो’ सुरु भयो भने विश्वको तापक्रम फेरि बढ्नेछ र गर्मीको सम्भवतः नयाँ रेकर्ड पनि बन्न सक्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्