नेभिगेशन
प्रदेश

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

कीर्तिपुर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मरेको भेटिएका ठूलो संख्याका कागहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले मरेका ६८ वटा काग बटुलेर मंगलबार पुरेको छ । 
‘त्यहाँ अझै मरेका काग भेटिएका छन्,’ नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले भनिन् । उनका अनुसार शाखामा एक साताअघि स्थानीयले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए । 
प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले मंगलबार मरेका काग संकलन गर्ने निर्णय गरेको थियो । साथै सोही स्थानमा अन्य पक्षी मृत भेटिएमा सोको नमूना संकलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । ‘खुला स्थानमा जताततै उड्ने पक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण जटिल हुन्छ,’ उनले भनिन् । उनका अनुसार कीर्तिपुर नगर क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ । 
पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस देखिएको जानकारी दिए । डुलुवा पक्षीमा पर्ने कागमा फिरन्ते चराबाट बर्डफ्लु संक्रमण भएको हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसै गरेर कागमा संक्रमण देखिएको जानकारी पनि उनले दिए । 
मोरङका पाँच स्थानमा बर्डफ्लु
विराटनगरको दाहाल कृषि फर्म, सुन्दरहरैचा नगरपालिकाको हलेसी महादेव फर्म, उर्लावारी नगरपालिकाको अठियाावारी फर्म र कटहरीको ए टु जेड र  कामख्या पोल्टी फर्ममा कुखुरामा बर्डफ्लु देखिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टि गरेको छ ।
संक्रमण पुष्टि भएका क्षेत्रमा पक्षी, अण्डा, दाना र अन्य सामग्री नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । पछिल्ला केही दिनयता बोइलर र लेयर्स कुखुरा फर्ममा कुखुरा मर्ने क्रम वृद्धि भएसँगै दैनिक आठदेखि नौ जना किसान परीक्षणका लागि मरेका कुखुरा लिएर आउने गरेको प्रयोगशालाका प्रमुख डा. कमल गिरीले  बताए ।
उनका अनुसार गत साउनयता परीक्षण गरिएका १९८ नमूनामध्ये ४५ वटामा बर्डफ्लु पुष्टि भइसकेको छ । शंकास्पद नमूना परीक्षणका लागि काठमाडौं पठाइएको डा गिरीले जानकारी दिए । 
झापामा पक्षीजन्य वस्तु ओसारपसारमा रोक
दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । 
प्रशासनले रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा संकटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा संक्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ । 
भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ । सङ्क्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुराहरू सोमबार नै नष्ट गरिसकिएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्