नेभिगेशन
प्रदेश

जुम्लामा निगमको उडान रोकिँदा कार्यालय घेराउ

जुम्ला । नेपाल वायुसेवा निगम जुम्ला उडानप्रति उदासीन देखिएपछि स्थानीय यात्रु आन्दोलित भएका छन् । पटक–पटक उडान तालिका सार्वजनिक गर्ने तर कार्यान्वयन नगर्ने निगमको प्रवृत्तिविरुद्ध यात्रुहरू विरोधमा उत्रिएका हुन् । निगमले गत फागुन १८ देखि जुम्ला उडान गरेको छैन । तय गरिएको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुले जुम्लास्थित निगम कार्यालयमा तालाबन्दी गरेका थिए ।
गुठिचौर–४ की हिरावती चौलागाईंले सरकारी विमान सेवाले नै जनतालाई ठग्दै आएको गुनासो गरिन् । उनले भनिन्, ‘बोर्डिङ पास हातमा लिएको एक साता भयो । दुई दिन मौसम खराब थियो । आइतबार उडान हुन्छ भनेर घरबाट आयौं, अन्तिममा रद्द भनियो । यो नियोजित जस्तो लाग्छ ।’
निगमले नियमित उडान गर्ने तयारी जनाएको भए पनि दुई सातासम्म उडान नहुँदा गर्भवती महिला, जटिल बिरामी तथा सर्वसाधारण यात्रुहरूले सास्ती भोग्नुपरेको यात्रु श्रीकृष्ण चौलागाईंले बताए । उनका अनुसार जुम्लामा अन्य क्षेत्र सुधार भए पनि हवाई सेवा भने अझै व्यवस्थित हुन सकेको छैन । ‘टिकट पाउन गाह्रो छ, उडान नियमित छैन । सेवा पहुँचमुखी मात्रै बनेको छ,’ उनले भने । उनले आइतबार कुनै प्राविधिक समस्या नभए पनि नेपालगञ्ज–जुम्ला उडान रद्द गरिएको आरोप लगाए ।
निगमले चैत ९ मा दुई उडान गर्ने सहमति जनाएपछि तालाबन्दी खोलिएको हो । नेपाल पत्रकार महासंघको पहलमा जिल्ला प्रशासन कार्यालयमा निगम, सिता, समिट र तारा एयरका प्रतिनिधिहरूसँग छलफल गरिएको थियो । नियमित उडानको मागसहित ध्यानाकर्षण पत्र पनि बुझाइएको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार आइतबारको उडान विभिन्न कारणले रद्द भएको जनाउँदै सोमबार दुई उडान गर्ने प्रतिबद्धता आएपछि तालाबन्दी खोल्ने निर्णय गरिएको हो । प्रशासनले जुम्लामा नियमित हवाई सेवा सञ्चालन गर्न निगमसहित निजी एयरलाइन्सहरूलाई ध्यानाकर्षण गराएको छ ।
निगमका महानिर्देशक अमृतमान श्रेष्ठले अब नियमित दुई उडान सञ्चालन गर्ने बताएका छन् । उनका अनुसार बिहान १० देखि ११ बजेसम्म पहिलो उडान र त्यसपछि दिउँसो दोस्रो उडान गरिनेछ । यसबारे नेपालगञ्ज स्टेशनलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए । निगमका जुम्ला स्टेशन इन्चार्ज उमाकान्त न्यौपानेले पनि नियमित उडानका लागि पहल भइरहेको बताए । उनका अनुसार सुर्खेतबाट हुने उडान संख्या घट्दा पनि समस्या थपिएको छ ।
निगमले मात्र होइन, निजी एयरलाइन्सहरूले पनि जुम्ला उडानलाई प्राथमिकता नदिएको स्थानीयको गुनासो छ । जुम्लासहित मुगु, हुम्ला र डोल्पा उडान गर्ने कम्पनीहरूले उडान संख्या घटाएका छन् ।
हाल सिता एयरले बुधबार र बिहीबार, समिट एयरले मंगलबार, तारा एयरले शुक्रबार र शनिबार तथा नेपाल वायुसेवा निगमले आइतबार, मंगलबार र बुधबारका लागि तालिका सार्वजनिक गरे पनि ती तालिका अनुसार नियमित उडान हुन सकेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्