नेभिगेशन
प्रदेश

सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव

काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनको उद्देश्यले इलामको सन्दकपुरमा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको हो । करिब ४० किलोमिटर लामो पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्नस्थललाई जोड्छ । सो मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ ।
सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा हुने महोत्सवका मुख्य आकर्षणमा रेडपाण्डा पदयात्रा, जंगल सफारी, चरा अवलोकन रहनेछन् । साथै, १८ प्रजातिको गुराँसको अध्ययनका साथै आदिवासी जनजातिको संस्कृतिसमेत नियाल्न पाइनेछ । विश्वको अग्लो हिमशिखर सगरमाथासहित ६० भन्दा बढी हिमशृंखला, सयौं प्रजातिका चराको अवलोकन गर्न सकिनेछ । महोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार पर्यटक सन्दकपुर आउने अपेक्षा छ । महोत्सव आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले यस महोत्सवले पालिकाका प्रमुख गन्तव्यहरूको समेत प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यसअघि २०८० सालमा पहिलो र २०८१ सालमा दोस्रो रेडपाण्डा महोत्सव आयोजना गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्