नेभिगेशन
उपत्यका

आरोहण मौसम आएपछि विभागको नयाँ निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले सन् २०२६ को वसन्त ऋतुको हिमाल आरोहण गतिविधिलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन नयाँ नियमहरू सार्वजनिक गरेको छ । 
विभागले सबै ट्रेकिङ एजेन्सीहरूलाई परिपत्र जारी गर्दै आरोहण अनुमति प्रक्रियादेखि उद्धार कार्यसम्मका नौ बुँदे विशेष निर्देशन पालना गर्न निर्देशन दिएको हो ।
विभागको निर्णयअनुसार अब हिमाल आरोहण अनुमति लिनुपर्ने समयभन्दा कम्तीमा २ दिन अगाडि नै पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ बमोजिमको विस्तृत विवरणसहित निवेदन पेश गर्नुपर्नेछ । आरोहण अनुमति लिँदा एजेन्सीले आफ्ना सहयोगी कर्मचारीहरूको विवरण अनिवार्य खुलाउनुपर्ने र ‘सरदार’ को नियुक्ति अनिवार्य रूपमा तोक्नुपर्ने व्यवस्था गरिएको छ । यदि थप सहयोगी कर्मचारी राख्नुपरेमा विभागको पूर्वस्वीकृति अनिवार्य गरिएको छ ।
यस्तै, आरोहण दलका सदस्य र सहयोगी कर्मचारीहरूको हालसालै खिचेको फोटो अनिवार्य रूपमा प्रणालीमा अपलोड गर्नुपर्ने र सोही फोटो प्रमाणपत्रमा प्रयोग गरिने विभागले जनाएको छ । सहयोगी कामदारहरूको हकमा इच्छापत्र र करारनामाको विस्तृत विवरण कम्पनी र कामदार दुवैले अनिवार्य रूपमा भर्नुपर्नेछ । अनलाइन प्रणालीमा विवरण अपलोडदेखि दैनिक ब्रिफिङसम्मको व्यवस्था गरिएको विभागका निर्देशक हिमाल गौतमले जनाएका छन् ।
विभागले पर्वतारोहण कार्यलाई थप व्यवस्थित, चुस्त र पर्वतारोही मैत्री बनाउन प्रशासनिक प्रक्रियामा नयाँ सहजीकरण सुरु गरेको छ । विभागले पर्वतारोहण दल, व्यवस्थापन गर्ने एजेन्सी र प्रशासनिक निकायबीच समन्वय बढाउन र कार्यविधिमा एकरूपता ल्याउन नयाँ परिपत्रमार्फत केही व्यवस्थापनका काम अघि बढाएको हो । कामदारको हकहित र सुरक्षा पर्वतारोहण सम्बन्धी नियमावली बमोजिम अन्तिम शिविरसम्म पुगेका पर्वतीय पथप्रदर्शक वा उच्च हिमाली कामदारहरूलाई आरोहण दलको सदस्य सरह नै शिखरसम्म पुग्ने अवसर दिनुपर्ने व्यवस्थालाई विभागले कडाइका साथ लागू गर्ने भएको छ ।
आरोहण दलको व्यवस्थापनलाई प्रभावकारी बनाउन सार्वजनिक विदाको दिन बाहेक हरेक दिन दिउँसो ३ बजे र शुक्रबार दिउँसो २ बजे विभागको सभाकक्षमा अनिवार्य ब्रिफिङ हुनेछ । जसमा टोली नेता, एजेन्सी प्रतिनिधि र सम्पर्क अधिकृतको उपस्थिति अनिवार्य गरिएको छ । प्रचलित ऐन र नियमको परिधिभित्र रहेर मात्र आरोहण गतिविधि सञ्चालन गर्न विभागले सबै सरोकारवालाहरूलाई सचेत गराएको छ । सरकारको प्रतिनिधिका रूपमा खटिने सम्पर्क अधिकृतहरूले पर्वतारोहणका क्रममा व्यवसायी र पर्यटकहरूलाई सहजीकरण गर्नुपर्ने र पर्वतारोहण व्यवस्थापनमा जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्ने अपेक्षा विभागले राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्