नेभिगेशन
नेपाल

एससीओमा ओली–मोदी भेट

काठमाडौ (संवाददाता) – चीनको तियाँजिन शहरमा जारी शांघाइ सहकार्य संगठन (एससीओ ) को २५औ सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार भेट भएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै  लेखेका छन्, ‘थियानचिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशिष्ट छ ।’

एससीओ प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी हुँदा ओली–मोदी संक्षिप्त भेट भएको हो । शिष्टाचार भेटमा दुईबीच शिष्टाचार संवाद भएको थियो ।

त्यसअघि सम्मेलन आयोजक राष्ट्र चीनका राष्ट्रपति शी जिनपिङसँग पनि ओलीले भेट गरेका थिए । शनिबार सीसँगको भेटमा ओलीले लिपुलेकका विषयमा नेपालको भनाइ राखेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको थियो । 

उक्त द्विपक्षीय भेटवार्तामा उनले भारत र चीनबीचको लिपुलेक व्यापार सम्झौता नेपालको स्वीकृतिबिना भएकोमा असहमति राखेका थिए । उनले लिपुलेकलाई नेपालको अभिन्न हिस्सामान्दै यस विषयमा नेपाल र भारतबीचको द्विपक्षीय वार्ता आवश्यक रहेको बताएका
थिए । 

प्रधानमन्त्री ओलीले आइतबार तियाँजिनको चाउएनलाई र डेङ्ग यिङचाओ स्मारक संग्रहालयको भ्रमण गरेका छन् । सम्मेलनमा आठ राष्ट्रका राष्ट्र प्रमुखहरू सहभागी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्