दिपक खत्री
सिन्धुपाल्चोक । पछिल्लो समय परम्परागत खेती प्रणाली छाडेर आधुनिक र उच्च आम्दानी दिने बालीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । सिन्धुपाल्चोकका केही युवा कृषकहरू परदेशको अनुभव गाउँमै प्रयोग गर्दै नयाँ सम्भावनाको खेतीमा होमिएका छन् ।
ड्रागन फल खेतीले उनीहरूलाई मात्र होइन, पहाडी कृषिमा पनि नयाँ उज्यालो देखाउन थालेको छ ।
सिन्धुपाल्चोकको डडुवाका ज्ञानेन्द्र मैनालीले १० वर्षको बैदेशिक रोजगारीपछि आफ्नै गाउँमा नयाँ सम्भावना खोज्ने सपना देखे । विदेशमा बस्दा उनले ड्रागन फल खेतीबारे सिक्ने मौका पाए, र नेपाल फर्किए लगत्तै तीनवर्ष अघि एक सय बोट ड्रागन फल ल्याएर खेती सुरु गरे ।
कलमी गरेर आफैं नयाँ बिरुवा उत्पादन गर्न थालेका मैनालीले अहिले खेतीको क्षेत्रफल७ रोपनीसम्म पु¥याएका छन् । ड्रागन फलको बीच–बीचमा उनले भेन्टा, खुर्सानी, अदुवा र वेसारजस्ता नगदेबाली समेत लगाएका छन्, जसले आम्दानी थप बढाएको छ । यो फल पोषणले भरिपूर्ण छ । बजारमा उत्पादन भन्दा माग धेरै हुन्छ ।
मैनालीका अनुसार फुल सुकाएर चियामा प्रयोग गर्न र कस्मेटिकमा सेन्टका लागि पनि बेचिन्छ । गतवर्ष उनले ३ सय ५० रुपैयाँ प्रतिकिलोको दरमा ४ सय किलो फल बेचे, यो वर्ष ७ सय किलोसम्म बिक्री हुने अपेक्षा छ । रासायनिक विषादी प्रयोग नै नगर्ने उनी दाबी गर्छन् ।
मैनालीको सफलताले सिन्धुपाल्चोककै पोखरेवेशीका सुशीलकुमार श्रेष्ठलाई पनि आकर्षित ग¥यो । उनले पनि २ वर्षदेखि ७ रोपनीमा ड्रागन खेती सुरु गरेका छन् । जेठको मध्यदेखि असोजसम्म फलदिने यो बगैँचामा अहिले फल किन्नका लागि मानिस आफैँ पुग्छन् । आफ्नै होटलमा उनले ड्रागन फलको जुस बनाइ बिक्री पनि गर्छन् ।
ड्रागनफल रोपेको दोस्रो वर्षदेखि फल दिन थाल्छ र एक पटक रोपिएपछि २५–३० वर्षसम्म उत्पादन दिन सक्छ । वर्षमा एक पटक मल हाल्ने र थोरै माटो उकेरा दिने बाहेक धेरै श्रम नपर्ने भएकाले आम्दानी राम्रो छ ।
कृषकले देखाएको उत्साहसँगै काभ्रे र सिन्धुपाल्चोकमा ड्रागन फलखेती गर्नेको संख्या बढ्दो छ । पहाडी जिल्ल्ला सिन्धुपाल्चोकमा २०७५ सालदेखि नविनतम नगदेबालीका रूपमा व्यवसायिक खेती सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार यसकै लागि हाल छुट्टै कार्यक्रम नभए पनि प्रस्तावका आधारमा किसानसँग साझेदारी गर्न सकिने व्यवस्था छ । मेक्सिको र दक्षिण अमेरिकाबाट भित्रिएको सिउँडी प्रजातिको यो फल दुई प्रकारको हुन्छ । सेतो भन्दा बजारमा रातो दानावाला ड्रागन फल बढी मन पराइन्छ । जसलाई हाँगा काटेर रोप्नुपर्ने हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन‘सी’पाइने कृषि प्राविधिकहरु बताउँछन् ।
परम्परागत खेती प्रणाली छाडेर आधुनिक र उच्च आम्दानी दिने बालीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । ड्रागन फल फलाउन किसानले ब्यवसायिक रूपमै खेती गर्न थालेका छन् । संघीय, प्रदेश र स्थानीय तहले प्रविधि र सीपमा लगानी गरे, यो खेतीले पहाडी क्षेत्रमै रोजगारी र आम्दानीको नयाँ ढोका खोल्नेछ ।