कैलाली, १५ भदौ - शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान् पर्व गौराको मुख्य दिन अठवाली अर्थात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरा सहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।
सुदूरपश्चिमको मौलिक संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ । गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारतलगायतका देशमा गएकाहरू फर्किएपछि गाउँघरहरू भरिभराउ भएका छन् ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत् रूपमा सुरुआत गर्दछन् । भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार भोजराज भट्टले बताले बताउनुभयो । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्राएर पूजा अर्चना गरी विवाहित महिलाहरूले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ ।
गौरा पर्वको मुख्य आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । धुमारी खेल खेल्दै देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्थालगायतका बारेमा तिखो व्यङ्ग्य पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुखदुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।
पुरुषहरूले पनि ठाडोखेल, देउडा, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् । सुदूरपश्चिमेलीहरूले दशैँभन्दा पनि बढी महत्त्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।
गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसंग व्रतालु महिलाले फागमार्फत नै भन्ने गरेका छन्। व्रतालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् ।
यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमवार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।