नेभिगेशन
शिक्षा

जमीअत उलमाएको शैक्षिक जागरण अभियान

रौतहट । जमीअत उलमाए नेपालले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित देशव्यापी ‘शैक्षिक जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । संस्थाले रौतहटको चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरी शिक्षाबाट वञ्चित मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्यसहित अभियान सुरु गर्न लागिएको जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष मोहम्मद खालिद सिद्धकीका अनुसार अभियानले शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि, विद्यालय भर्ना दर वृद्धि, विद्यालय छाड्ने दर न्यूनिकरण तथा शिक्षाको गुणस्तर सुधारमा टेवा पु¥याउनेछ । विद्यालय तथा मदरसामा सुधार, अभिभावक र समुदायमा सकारात्मक सन्देश प्रवाह तथा सरोकारवालासँग सहकार्य गरी शैक्षिक सुधार अघि बढाउने योजना रहेको उनले बताए ।
नेपालको साक्षरता दर ७६.२ प्रतिशत रहेकोमा मुस्लिम समुदायमा यो दर ६१.७ प्रतिशत मात्र छ भने मुस्लिम महिलाको साक्षरता दर झनै कम रहेको तथ्यलाई दृष्टिगत गर्दै अभियान सञ्चालन गर्न लागिएको संस्थाले जनाएको छ । अभियान चैत १५ देखि वैशाख १५ सम्म सञ्चालन हुनेछ । यस अवधिमा जनचेतनामूलक कार्यक्रम, शैक्षिक अन्तरक्रिया, अभिभावक परामर्श तथा विद्यार्थी प्रेरणामूलक गतिविधि सञ्चालन गरिनेछ । संस्थाले अभियान सफल बनाउन सबै सरोकारवाला पक्षलाई सहकार्यका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्