नेभिगेशन
प्रदेश

चिकित्सा शिक्षामा जुम्लाको छुट्टै आकर्षण

 मुगु । जुम्ला अहिले पश्चिम नेपालका लागि चिकित्सा शिक्षाको आकर्षक थलो बनेको छ । यहाँको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वदेशीमात्रै नभइ भारतका विद्यार्थीसमेत अध्ययनका लागि आएका छन् । 
प्रतिष्ठानले नयाँ शैक्षिक सत्र २०८२ मा १३५ भन्दा बढी विद्यार्थी भर्ना गरेको छ । पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाबाट  विद्यार्थीहरू एमबीबीएस, नर्सिङ, बीएनएस, बीपीएच, बीएस्सी नर्सिङ र बीफर्मा जस्ता कार्यक्रममा अध्ययन गर्न जुम्लामा छन् । 
प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले भने, ‘काठमाडौं छाडेर कर्णालीमा पढ्न आउने विद्यार्थीहरूको विश्वासले प्रतिष्ठानलाई जिम्मेवारीसहित गौरवान्वित बनाएको छ ।’ बढेको जिम्मेवारीअनुसार प्रतिष्ठानले पढाउन आवश्यक व्यवस्थापन गरिरहेको उनले बताए । 
अध्ययनरत विद्यार्थी अमय आचार्यले सुनिएका भ्रमविपरीत जुम्ला चिकित्सा शिक्षा मात्र होइन, प्राकृतिक सुन्दरता, भाषा, साहित्य र संस्कृतिको अध्ययनको केन्द्र रहेको पाएको सुनाए । ‘यहाँको वातावरणले हाम्रो अध्ययनलाई अझ सहज बनाएको छ,’ उनले भने ।
प्रतिष्ठानमा हाल ५० जना एमबीबीएस, २० जना नर्सिङ, २० जना बीएनएस, २० जना बीपीएच, २० जना बीएस्सी नर्सिङ र २० जना बीफर्मामा विद्यार्थी अध्ययनरत छन् । चार स्कुलमा स्कुल अफ मेडिसिन, फार्मेसी, नर्सिङ र पब्लिक हेल्थअन्तर्गत स्नातक र स्नातकोत्तर गरी १३ कार्यक्रम सञ्चालनमा छन् । शिक्षक र कर्मचारीसहित १२० जना कार्यरत छन् ।
शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार यहाँबाट निस्केका विद्यार्थी मेडिकल काउन्सिलको विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण हुँदा  प्रतिष्ठानको विश्वसनीयता बढेको छ । ‘सीमित स्रोतसाधनका बाबजुद पनि प्रतिष्ठानले गुणस्तरीय शिक्षा उपलब्ध गराएको छ,’ उनले भने । तीन सय शड्ढयाको शिक्षण अस्पतालले विद्यार्थीलाई व्यावहारिक अनुभव लिन सहज बनाएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्