नेभिगेशन
विश्व

मध्यपूर्व द्वन्द्वको प्रभाव औषधि उद्योगमा, अकासियो कच्चा पदार्थको मूल्य

काठमाडौं । मध्यपूर्वमा जारी इरान, अमेरिका–इजराइलबीचको द्वन्द्वको प्रभाव नेपालको औषधि उत्पादन र आपूर्ति व्यवस्थापनमा पनि देखिन थालेको छ । एक महिनादेखि जारी युद्ध लम्बिँदै जाँदा देशभित्र उत्पादन हुने औषधिको कच्च पदार्थको आयात प्रभावित भई त्यसको असर औषधिको आपूर्ति व्यवस्थापनमा पनि देखिन थालेको हो ।
औषधी उत्पादन गर्ने स्वदेशी उद्योगले भारतबाट आयात गर्ने कच्चा पदार्थ तथा तयारी औषधिको मूल्य अधिक बढेर आइरहेको हुँदा आफूहरूले पाउने मूल्यभन्दा उत्पादन लागत मूल्य बढी भएकाले उद्योग नै धराशयी हुने अवस्था आएको उद्योगी बताउँछन् । 
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी विश्वव्यापी रूपमा बढ्दो ढुवानी (सिपिङ) लागतका कारण औषधी बनाउन उपयोग हुने कच्चा पदार्थको ३० देखि ७० प्रतिशतसम्म मूल्य बढेर आएकाले उद्योगको उत्पादन शृंखला प्रभावित हुन थालेको बताउँछन् । ‘विश्व बजारमै कच्चा तेलको मूल्य बढेपछि सबै क्षेत्र प्रभावित हुनु स्वभाविक नै हो,’ उनले भने, ‘भारतबाट आयात गर्नुपर्ने कच्चा पदार्थको ढुवानी भाडा महँगो भएपछि अहिले औषधीको उत्पादन लागत बढ्दा दैनिक रूपमा व्यवसायीले घाटा खाएर बजारमा औषधि दिनु परिरहेको छ ।’
उनका अनुसार औषधि उत्पादनमा प्रयोग हुने धेरैजसो केमिकलहरू पेट्रोकेमिकलको मूल्य बढेकाले यसको प्रभाव औषधि उद्योगमा पनि प्रत्यक्ष रूपमा परेको छ । हाल आवश्यक पर्ने प्रमुख कच्चा पदार्थहरूको मूल्य उल्लेखनीय रूपमा बढेको छ । उद्योगमा ग्लिसरिन, आईपीए र बोतल तथा सलाइन उत्पादनमा प्रयोग हुने प्लास्टिकका दानाहरूको अभाव हुन थालेको पनि उनले बताए । 
संघसँग कुनै आधिकारिक तथ्यांक नभए पनि सलाइन उत्पादनका सन्दर्भमा युद्ध लम्बिँदै जाने हो भने अबको १५ दिनभित्रै उद्योग सञ्चालनमा कठिनाइ आउने संकेत देखिएको उनले बताए । औषधि उद्योगका लागि चाहिने केही कच्चा पदार्थहरू अहिलेसम्म सहजै उपलब्ध भए पनि तिनको मूल्य ३० प्रतिशतदेखि ७० प्रतिशतसम्म बढिसकेको  संघले जनाएको छ ।
‘यो अवस्था केवल नेपालमा मात्र सीमित नभई विश्वव्यापी रूपमा देखिएको हो । पारासिटामोल लगायतका औषधिमा प्रयोग हुने कच्चा पदार्थको मूल्य अत्यधिक रूपमा बढेको छ । मूल्यवृद्धिले लागत महँगिँदा औषधि उद्योगहरू धराशयी बन्ने खतरा बढेर गएको छ,’ अधिकारीले भने ।
सरकारले उपभोक्ताका लागि केही औषधिको मूल्य नै निर्धारण गरिदिएकाले सरकारको निर्णय बिना ती औषधिको मूल्य बढाउन नपाइने हुँदा महँगो कच्चा पदार्थ प्रयोग गरेर सस्तोमा औषधि उत्पादन गर्नुपर्ने बाध्यता रहँदा उद्योगहरू आर्थिक रूपमा धराशयी हुने जोखिम बढेको संघको ठहर छ । संघले कच्चा पदार्थको लागत महंगिँदा उद्योग सञ्चालनमै समस्या ल्याउने र दीर्घकालीन रूपमा औषधि आपूर्ति प्रणालीमा गम्भीर असर पार्ने जनाएको छ ।
‘यसको प्रभाव ‘चेन इफेक्ट’ का रूपमा देखिन्छ । आज कच्चा पदार्थको मूल्य वृद्धि वा अभाव हुँदा त्यसको असर तुरुन्त नदेखिए पनि दुई–तीन महिनापछि बजारमा स्पष्ट रूपमा देखिन थाल्छ । उत्पादन चक्र निरन्तर चलिरहनुपर्ने भएकाले भविष्यका लागि आजै उत्पादन सुनिश्चित गर्नुपर्ने हुन्छ,’ अधिकारीले भने । 
संघले बिक्री मूल्यभन्दा महँगो दरमा धेरै दिन औषधि उत्पादन गर्न नसकिने हुँदा कच्चा पदार्थको मूल्य बढेकै हाराहारीमा औषधिको मूल्य बढाउन औषधि व्यवस्था विभाग समक्ष माग समेत गरेको छ । आपूर्ति शृंखला प्रभावित हुन नदिन सरकार र औषधि व्यवस्था विभागसँग औषधिको मूल्य निर्धारणमा केही लचकता अपनाउन आग्रह गरेको संघले जनाएको छ । 
संघले अहिलेको अवस्थामा कुनै प्रकारको कृत्रिम मूल्य नियन्त्रण (कार्टेलिङ) गर्नु नभई औषधिको निरन्तर उपलब्धता सुनिश्चित गर्नका लागि मात्रै महँगोमा कच्चा पदार्थ खरिद गरेर औषधि उत्पादन गर्दा सोही अनुसार मूल्य समायोजन गर्न पाउने वातावरण आवश्यक देखिएको जनाएको छ । 
पेट्रोलियम इन्धनको मूल्यवृद्धिपछि नै औषधिको कच्चा पदार्थ केही हदसम्म उपलब्ध भए पनि भविष्यमा अभाव झनै गहिरिन सक्ने सम्भावना बढ्दै गएको छ । अहिले नै आवश्यक सामग्री सञ्चित गरेर राख्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेकाले औषधि जस्तो संवेदनशील वस्तुको उपलब्धता सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण भएकाले मूल्यमा केही लचकता आवश्यक रहेको संघको ठहर छ ।
संघका अध्यक्ष अधिकारीले औषधिको कच्चा पदार्थको मूल्यवृद्धि र यसबाट उत्पन्न परिस्थितीबारे सम्बन्धित सरोकारवालाहरू जानकार रहेकाले औषधिको बजार मूल्य बढाउन सकारात्मक देखिएको दाबी गरे । ‘मूल्य १०–२० प्रतिशत बढ्नुभन्दा पनि औषधिको उपलब्धता सुनिश्चित गर्नु अहिलेको मुख्य प्राथमिकता हो,’ उनले भने, ‘भारतमा समेत औषधिको मूल्य समायोजनबारे बहस सुरु भइसकेकाले नेपालमा पनि सम्बन्धित निकायहरू सक्रिय रूपमा छलफलमा आएका छन् । यहाँ समयमै निर्णय गरिएमा उद्योगीहरूको मनोबल उच्च हुने र आवश्यक कच्चा पदार्थको सुनिश्चित आपूर्ति गर्न सहज वातावरण बन्नेछ ।’
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले औषधि उद्योगका लागि चाहिने कच्चा पदार्थको मूल्य बढेर आएपछि उद्योगीहरूले औषधिको माग बढाउनुप¥यो भनेर संवादमा आएको बताए । उद्योगीले अनौपचारिकरूपमा औषधिको मूल्य बढाउनु प¥यो भनेर कुरा रख्नु भएको छ । ‘व्यवसायीहरूले उठाएको विषयको मूल्यांकन भइरहेको छ, यो प्रक्रिया पूरा भएपछि मात्रै विभागले ठोस निर्णय गर्नेछ,’ उनले भने ।
सम्बन्धित पक्षहरूसँग निरन्तर संवाद भइरहेकाले व्यवसायीहरूले आवश्यक प्रतिवेदनहरू पनि विभागलाई उपलब्ध गराउन लागेको र त्यसको अध्ययन तथा विश्लेषण गर्ने कार्य पनि सँगसँगै अघि बढिरहेको उनले बताए । व्यवसायीसँग प्रारम्भिक रूपमा छलफल सुरु भइसकेको भए पनि औपचारिक बैठकहरू भने अझै नभएको पनि उनले बताए ।
नेपालमा हुने कुल औषधि आयातमध्ये ५० प्रतिशतभन्दा बढी भारतबाट आउने गरेको छ । द्वन्द्व सुरु भएको एक महिनाको अवधिमा नेपाली बजारमा औषधिको अभाव तत्कालै नदेखिए पनि अझै दुई साताजति आपूर्ति सहज नहुने हो भने बजारमा औषधिको अभाव हुने देखिएको छ । भारतमा पनि कच्चा पदार्थको मूल्य वृद्धिले २०० बढी औषधि उद्योग बन्द भइसकेका छन् । संघका अनुसार देशभित्र सञ्चालित ८० औषधि उद्योगमध्ये ४० वटा उद्योगसँग मात्रै तीन महिनालाई पुग्ने कच्चा पदार्थ स्टक छ । अन्य उद्योगसँग १५ दिनको भण्डारण मात्रै रहेकाले उत्पादन प्रभावित हुने देखिएको छ ।
नेपालको औषधि बजार करिब १ खर्ब रूपैयाँबराबरको रहेको अनुुमान छ । देशभित्र खपत हुने कुल औषधिको ६० प्रतिशत स्वदेशी उद्योगहरूले धानेका छन् भने बाँकी ४० प्रतिशत औषधि आयात हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्