ढाका, भदौ १५ (एएफपी) : बाङ्लादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा रहेका रोहिंग्या महिला तथा किशोरकिशोरीका लागि यौन उत्पीडन सबैभन्दा ठूलो चिन्ताको विषय रहेको आइतबार सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ ।
म्यान्माको रखाइन राज्यमा सेनाको बर्बर दमनबाट भागेर भागेका करिब १० लाख मुस्लिम रोहिंग्या अल्पसंख्यकको कोक्स बजारलगायत बाङ्लादेश र अन्य एसियाली मुलुकमा बसोबास गर्दै आएका छन् ।
सन् २०१७ को आगमनपछि शिविरमा सञ्चालित सबैभन्दा ठूलो गैरनाफामूलक संस्था एक्सनएडले लिएका ६६ वटा गहन अन्तरवार्ताले महिला तथा किशोरकिशोरीले सामना गर्नुपरेको गम्भीर चुनौतीलाई उजागर गरेको हो ।
‘यौन उत्पीडन सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ एक्सनएडको नीति, अनुसन्धान तथा वकालत प्रबन्धक तमाजर अहमदले बताए । शिविरमा कम उमेरमै विवाह र बहुविवाह सामान्य भइसकेको छ र अन्तरवार्तामा सहभागी ९३ प्रतिशत कानूनी सहायताको दायराभन्दा बाहिर रहेका छन् ।
सहभागीले आफ्नो परिवारका चिनेजानेका व्यक्तिले मात्र नभई बाङ्लादेश सरकारले खटाएको सशस्त्र प्रहरी बटालियन (एपीबीएन) का सदस्यले पनि हिंसात्मक घटना भएको बताएका छन् ।
अहमदका अनुसार शिविरमा रहेका महिलाहरूले सुरुका दिनहरूमा आधारभूत सुविधाहरूको अभावबाट अहिले अझ बढी प्रणालीगत दुव्र्यवहारमा परिवर्तन आएको बताएका छन् । अहमदले भने, ‘अहिले रोहिंग्या महिला र किशोरकिशोरीहरू प्रायः दुर्व्यवहार, बलात्कार, मानव बेचबिखन, गरीवी, शैक्षिक बहिष्करण र मृत्युको शिकार हुने गरेका छन् ।’
अध्ययनले छ देखि १५ वर्ष उमेर समूहका केटीहरू विशेष गरी असुरक्षित भएको देखाएको छ र यौन उत्पीडनका अधिकांश घटनाहरू शौचालय र नुहाउने ठाउँनजिक हुने गरेका बताएको छ । उनीहरू वितरण केन्द्र, अस्पताल, विद्यालय र मदरसा, सीमा क्षेत्र र आफन्तको घरभित्रसमेत असुरक्षित छन् ।
एक्सनएडकी कार्यकारी निर्देशक फराह कबिर भन्छिन्, ‘रोहिंग्या समुदायमा पितृसत्ताको गहिरो जरा गडेको छ ।’ उनले १६ देखि ३० वर्ष उमेर समूहका रोहिंग्या महिलाको धारणा अनुसन्धानको केन्द्रमा रहेको बताइन् ।
सर्वेक्षणमा सहभागी महिलाहरूले अधिकारीहरूलाई सार्वजनिक स्थलहरूमा उज्यालो बनाउन, एपिबीएन अधिकारीहरूलाई सेनाको कर्मचारीहरूसँग प्रतिस्थापन गर्न, रोकथाम प्रयासहरूमा पुरुषहरूलाई संलग्न गर्न र शिक्षा तथा जीविकोपार्जनमा पहुँच विस्तार गर्न आग्रह गरेका थिए ।
उनीहरूले भने, ‘कानून कार्यान्वयन गर्ने र धार्मिक नेताहरू माथिको विश्वास कम भएको र थुप्रै महिलाहरूले दुव्र्यवहारको सामना गर्नुपर्दा आफूकहाँ जाने ठाउँ नै छैन ।’ एपीबीएनका कौसर सिकन्दरले भने सुरक्षा बलमाथि लागेको आरोपबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
बाङ्लादेशमा सन् २०२४ को शुरुदेखि नै म्यानमाबाट आउने शरणार्थीको संख्यामा वृद्धि भएको छ र थप एक लाख ५० हजार रोहिंग्या नागरिक कोक्स बजार र वरपरका क्षेत्रमा आश्रय लिन आएका छन् ।