नेभिगेशन
प्रदेश

लहरे सुइयामा बन्यो झोलुंगे पुुल, दैलेखमा अरू १८ पुल बन्दै

दैलेख । दैलेख जिल्लाको चामुण्डाबिन्द्रसैन नगरपालिका र ठाटिकाँध गाँउपालिकालाई जोड्ने झुलुंगे पुल सञ्चालनमा आएको छ ।
चामुण्डा बिन्द्रसैनी नगरपालिका २ र ठाटिकाँध गाँउपालिका– ३ को बीचमा पर्ने रामघाट खोलाको लहरेमा पुल बनेपछि स्थानीयवासीको दैनिक जीवनयापन, व्यापार तथा सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।
पुलको निर्माण कार्य गत वर्षको माघमा सुरु भएको थियो । निर्माण थालिएको १४ महिनामा पुल बनेपछि जोखिमपूर्ण तरिकाले खोला तर्ने बाध्यता हटेको स्थानीय बताउँछन् ।
‘पहिले बर्खायाममा खोला तर्न निकै गाह्रो हुन्थ्यो । कति गाइवस्तु बगे, घाँसदाउराका भारी बगे । मान्छे पनि बगे,’ स्थानीय डिलमाया शाहीले भनिन्, ‘हाम्रो जग्गा खोलापारी छ । ज्यानको जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था थियो । हामीले दुःख पाए पनि छोरानातिले दुःख नपाउने भए ।’
यसैगरी चामुण्डा बिन्द्रसैनी– २ का वडा सदस्य रविन्द्रकुमार कँडेलले भने, ‘ठाटिकाँध गाँउपालिकामा क्याम्पस थिएन चामुण्डा जानु पर्दथ्यो । विद्यार्थीलाई क्याम्पस जान खोला तर्न नपर्ने भएको छ । बिरामीलाई स्वास्थ्य संस्था पुग्न सहज भएको छ । कृषकका भारी खोलामा नबग्ने भए ।’
ठाटिकाँध गाउपालिका वडा न. ३ का  अध्यक्ष भरतबहादुर बमले पुलले स्थानीयलाई राहत पुग्ने आशा व्यक्त गरे । पुल निर्माणमा पूर्वाधार विकास कार्यालय दैलेखको ४० लाख ११ हजार ३ सय ६९, जनसहभागीता ८९ हजार छ सय ९, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको ३ लाख ७४ हजार २ सय २९ बराबरको लठ्ठा र बुलडग गिप्स र ग्रामीण विकास केन्द्रको सामाजिक तथा प्राविधिक सहयोग ४४ लाख ७५ हजार एक सय रुपैयाँको लागत लागेको थियो । पुलको लम्बाई ८१ मिटर छ ।
दैलेखका दुर्गम बस्तीका स्थानीयको सहजताका लागि दैलेखमा आर्थिक वर्ष २०८२÷०८३ मा १२ वटा झोलुंगे पुल निर्माण गर्ने योजना अगाडि सारिएको छ । जसमध्ये कर्णाली प्रदेश सरकारको ४ करोड ९९ लाख ५५ हजार ६ सय ४१ रुपैयाँ लागतमा पूर्वाधार विकास कार्यालय दैलेख मातहतमा ग्रामीण विकास सेवा केन्द्रको सामाजिक तथा प्राविधिक सहयोगमा यहाँका पाँच स्थानीय तहमा दश वटा झोलुंगे पुल निर्माण गरिने भएको हो ।
दैलेखमा गत आर्थिक वर्षको बहुवर्षीय स्रोत सहमति भएका ८ वटा र यस आर्थिक वर्षमा १२ गरी २० वटा झुलुंगे पुल निर्माणको कार्यक्रम चलिरहेको छ । जसमध्ये ७ वटाको काम भइरहेकामा, एउटाको निर्माण सम्पन्न भएको छ भने बाँकी ६ वटा अन्तिम चरणमा पुगेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्