नेभिगेशन
उपत्यका

वन मन्त्रालयमा जेड्सी लागू

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपांगतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ ।
दस वर्षदेखि तयारी गर्दै आएको उक्त रणनीति फागुन १५ गते देखि स्वीकृत भई लागू गरिएको हो । सो सम्बन्धमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रणनीति आउनु आफैंमा सफलता रहेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्नु सम्बन्धित क्षेत्रको दायित्व हुने बताए ।
सो नीतिमा विभिन्न ७४ रणनीतिअन्तर्गत कार्ययोजना समेटिएको छ । जसमा हरेक पाँच वर्षमा रणनीति तथा कार्ययोजनाको पुनरावलोकन गर्ने तथा हरेक तीन वर्षमा वन क्षेत्रमा लैंगिक मूलप्रवाहीकरण राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने उल्लेख छ ।
त्यस्तै, रणनीतिमा महिला कर्मचारीलाई वन परिसरमा सुविधायुक्त शिशु स्याहार केन्द्रको स्थापना र सञ्चालन गर्ने, महिला कर्मचारी सरुवा गर्दा बच्चा भएको दुई वर्षसम्म साथै माग भई आएमा श्रीमान्–श्रीमती दुवैलाई एकै जिल्लामा हुनेगरी सरुवा मापदण्ड बनाई कार्यान्वयन गर्ने, अपांगमैत्री सवारीसाधनको व्यवस्था मिलाउने, कार्यालयमा रहेका स्रोत र साधन महिला एवं अपांग मैत्री बनाउनेलगायत बुँदा समावेश गरिएको छ ।
कार्यक्रममा सामुदायिक वनका महासचिव पार्वता गौतम, वन प्राधिकरण संघका अध्यक्ष राकेश कर्ण, विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ, लैंगिक समानता विज्ञ कञ्चन लामालगायतले रणनीतिको महत्वबारे धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्