नेभिगेशन
प्रदेश

ढोरपाटनमा बनेल सिकार पनि खुला

बागलुङ । मुलुकको एक मात्र सिकार आरक्ष ढोरपाटनमा दोस्रो सिकार याम सुरु भएसँगै यसपटक बनेल (जंगली सुँगुर) सिकारलाई समेत अनुमति दिइएको छ । यसअघि मुख्यतः नाउर र झारलमा सीमित सिकार अब बनेलसम्म विस्तार गरिँदा सिकार गतिविधि थप विविध बनेको छ ।
फागुनदेखि वैशाखसम्म चल्ने दोस्रो सिकार यामका लागि आरक्षमा १४ नाउर, १० झारल र १३ बनेल सिकारको कोटा निर्धारण गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुमतिमा विभिन्न सिकार ब्लकमा विदेशी सिकारीहरू सक्रिय हुन थालेका छन् भने केही अझै नेपाल आउने क्रममा छन् । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार याम सुरु भएसँगै केही सिकारीले सिकार सम्पन्न गरिसकेका छन् भने अन्य समूह तयारी अवस्थामा छन् ।
यो सिजनमा विभिन्न सफारी कम्पनीमार्फत अमेरिका, डेनमार्क, फ्रान्स, बेल्जियम, स्पेन लगायतका देशका नागरिकहरूले सिकार अनुमति लिएका छन् । उनीहरू सुनदह, सेङ, घुस्तुङ र दोगाडी जस्ता ब्लकमा खटिएका छन् । केही सिकारी हेलिकप्टरमार्फत सिधै सिकार क्षेत्रसम्म पुग्ने गरेका छन् भने उनीहरूसँग नेपाली सहयोगी, आरक्षका कर्मचारी र नेपाली सेना समेत खटिने गरेका छन् ।
रेञ्जर सुवेदीका अनुसार प्रतिस्पर्धात्मक बोलपत्रमार्फत विदेशी सिकारीले नाउर, झारल र बनेल सिकारका लागि अनुमति लिने गर्छन् । पहिलो सिकार याम असोज–मंसिरमा नाउरको मूल्य १९ लाख रुपैयाँसम्म पुगेको थियो भने झारलको करिब १८ लाख रुपैयाँ संकलन भएको थियो । दोस्रो याममा भने मूल्य केही घटाइए पनि सहभागिता उत्साहजनक छ । एक जना सिकारीले अनुमति, बन्दोबस्ती, हेलिकप्टर लगायतमा करिब ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्छन् । 
हालसम्म दोस्रो याममा एक नाउर र एक झारल सिकार भइसकेको छ । अन्य सिकारीहरू निर्धारित १५ दिनभित्र आफ्नो सिकार पूरा गर्न व्यस्त छन् । नियमअनुसार आरक्ष प्रवेश गरेपछि तोकिएको समयभित्र मात्र सिकार खेल्न पाइन्छ र जंगलमै बसोबास गर्नुपर्ने हुन्छ ।
ढोरपाटन सिकार आरक्ष २०४४ सालमा स्थापना भएको हो । यो बागलुङ, पूर्वी रुकुम तथा म्याग्दी जिल्लामा फैलिएको छ । यसको सुरक्षा व्यवस्थापन नेपाली सेनाले विसं २०७३ देखि गर्दै आएको छ । साहसिक यात्रा र सिकार अनुभवका कारण यो क्षेत्र विदेशीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्