नेभिगेशन
शिक्षा

एसइईमा उपल्लो मुस्ताङबाट एक मात्र छात्रा

मुस्ताङ । चिसो सिरेटो र सुनसान बस्तीको चुनौतीलाई चिर्दै उपल्लो मुस्ताङको छोसेरबाट एक्ली विद्यार्थीका रूपमा छिमी ल्हामो गुरुङ यस वर्षको एसइई परीक्षामा होमिँदै छिन् ।
यस वर्ष उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरकी छिमी ल्हामो गुरुङ यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा व्यस्त छिन् । तिब्बतको सिमानामा पर्ने दिव्यदीप माध्यमिक विद्यालय, छोसेरबाट यस वर्ष छात्रा गुरुङ मात्रै परीक्षामा सहभागी छिन् ।
पोखरा नगरपालिका–२६, विजयपुरमा रहेको विद्यालयमा मंसीरदेखि फागुनसम्म पढेर गुरुङ शिक्षकसँगै सदरमुकाम जोमसोममा जाने विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले बताए । उनका अनुसार जिल्लाभर ८५ जना छात्रा रहेकोमा गुरुङ उपल्लो मुस्ताङबाट सहभागी हुने एक मात्रै छात्रा हुन् । त्रिपाठीले भने, ‘यस वर्ष विद्यालयबाट एक जना मात्रै विद्यार्थीले एसइई दिँदै हुनुहुन्छ । हामीले परीक्षाका लागि नियमित र अतिरिक्त कक्षासहित तयारीमा कुनै पनि कमी हुन दिएका छैनौं ।’
उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक मात्रै माविस्तरको सामुदायिक विद्यालयबाट छात्रा गुरुङ एक्ली परीक्षार्थी भएको उनले बताए । जनसंख्या कम रहेकाले विद्यालयमा ल्होमन्थाङ गाउँपालिकाबाहेक म्याग्दी, बागलुङ, धनुषा, रूपन्देहीलगायतका विद्यालयका विद्यार्थी अध्ययनरत छन् ।
मुस्ताङबाट यस वर्षको एसइईका लागि नियमिततर्फ १ सय ८६ र ग्रेड वृद्धितर्फ १२ जना गरी १ सय ९८ विद्यार्थी सहभागी परीक्षामा सामेल रहेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ । शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले मुस्ताङमा नौ सामुदायिक, एक निजी र दुई धार्मिक विद्यालयबाट नियमितमा छात्र १ सय १ जना र छात्रा ८५ जना रहेको जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्