नेभिगेशन
प्रदेश

सारङ्गीको धुनमा गुजारा


दमौली । बुटवल बसोबास गर्दै आउनुभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएको ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्छिन् । परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतिले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताएका छन् ।
वर्षौँदेखि उनीहरूको दिनचर्या नै फरक छ, बिहानै घरबाट निस्कने, विभिन्न गाडी चढ्दै यात्रीहरूसामु गीत प्रस्तुत गर्ने । बस, माइक्रोबस वा अन्य सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै उनीहरू सारङ्गी बजाएर लोकगीत गाउँछन् । उनीहरूको स्वर र धुनले यात्रीलाई भावुक बनाउँछ, कतिपयलाई आफ्नो गाउँघर, परिवार र विगतका सम्झनामा डुबाउँछ ।
यात्रीहरूले गीतको प्रशंसा गर्दै स्वेच्छाले दिने रकम नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो । ‘कहिलेकाहीँ धेरै राम्रो कमाइ हुन्छ, यहीँबाटै हाम्रो घर चलेको छ,’ लोकबहादुरले भने । उनका अनुसार, दैनिक कमाइ स्थिर नभए पनि नियमित मेहनतले घरखर्च टार्न गाह्रो छैन । 
उनीहरुका चार जना छोराछोरी छन् । उनीहरूले यही पेसाबाट कमाएको आम्दानीले छोराछोरीलाई हुर्काएका छन् । ‘आफ्नै मेहनतले परिवार पाल्न सकेका छौँ, यही नै ठूलो कुरा हो,’ डल्ली गन्धर्व भन्छिन् । उनीहरु गीत गाउँदै देशका विभिन्न जिल्ला पुगिसकेका छन् । पूर्वदेखि पश्चिमसम्मका सडकमा यात्रा गर्दै, नयाँ ठाउँ हेर्दै र मानिससँग भेटघाट गर्दै उनीहरूको जीवन बितेको छ । 
आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला सारङ्गीजस्ता परम्परागत बाजा र गन्धर्व समुदायको पेसा सङ्कटमा परेको छ । नयाँ पुस्ता वैकल्पिक पेसातर्फ आकर्षित हुँदा यस्ता मौलिक कला लोप हुने खतरा बढ्दो रहेको लोकबहादुर बताउँछन् । ‘यो हाम्रो पहिचान हो, हाम्रो संस्कृति हो । जबसम्म सक्छौँ, हामी यही गर्दै जानेछौँ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्