नेभिगेशन
विश्व

यमनमा राष्ट्रसङ्घका कर्मचारी पक्राउ : महासचिवद्वारा चिन्ता व्यक्त

सानाआ, यमन, १६ भदौ : यमनमा सक्रिय हुथी समूहद्वारा आइतबार संयुक्त राष्ट्रसङ्घका ११ जना कर्मचारीहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति महासचिव एन्टोनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

महासचिवले एक विज्ञप्ति जारी गर्दै सो गिरफ्तारीको निन्दा गर्नुका साथै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसङ्घ तथा मानवीय कार्यमा संलग्न संस्थाहरूका कर्मचारीहरूलाई सुरक्षित वातावरणमा कार्य गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिए ।

महासचिव गुटेरेसले यसअघि पनि यस्ता घटनाहरूको प्रतिवाद गर्दै आएका थिए र यसपटक पुनः गिरफ्तार गरिएका सबै व्यक्तिहरूको बिना शर्त र शीघ्र रिहाइको माग गरेका छन् । उनले राष्ट्रसङ्घका कार्यालयमा जबर्जस्ती प्रवेश गरिएको, सम्पत्ति कब्जा गरिएको र अन्य कार्यालयहरूमा छिर्न खोजिएको घटनाप्रति पनि गम्भीर चिन्ता प्रकट गरेका छन् ।

संयुक्त राष्ट्रसंघका यमनका लागि विशेष दूत हान्स ग्रुनबर्गका अनुसार, पछिल्लो गिरफ्तारीसँगै यमनको उत्तर क्षेत्रमा नियन्त्रणमा रहेका राष्ट्रसङ्घका कर्मचारीहरूको सङ्ख्या ३४ पुगेको छ ।

यता, हुथी पक्षले विगत केही दिन यता इजरायली हवाई आक्रमणका कारण आफ्ना केही उच्च पदस्थ व्यक्तिहरूको मृत्यु भएको जानकारी गराएको छ । उक्त घटनापछि उनीहरूबाट प्रतिक्रिया स्वरूप केही कडा अभिव्यक्ति सार्वजनिक भएका छन् ।

महासचिवले राष्ट्रसंघ र यसको साझेदार संस्थाहरू यमनका जनताको हितमा समर्पित रहेको स्पष्ट पार्दै, शान्तिपूर्ण र स्थायी समाधानका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

- रासस/सिन्ह्वा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्