नेभिगेशन
उपत्यका

ओली र लेखकलाई ५ दिन हिरासत अनुमति

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । शनिबार भक्तपुरबाट पक्राउ परेका उनीहरूलाई आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले अनुमति दिएको हो । स्वास्थ्यका कारण ओलीलाई भने भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो  । 
भदौ २३ र २४ गतेको जेनजी  आन्दोलनका क्रममा ओली र लेखकलाई फौजदारी अभियोगमा कारवाही गर्नु भन्ने गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा सरकारको निर्णयपछि प्रहरीले शनिबार विहान उनीहरुलाई ज्यान कसूरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो । 
अदालतले प्रतिवादीहरूको बयान लिन, घटना विवरणका कागज बुझ्न र आयोगको प्रतिवेदन विश्लेषण गर्न हिरासत आवश्यक देखिएको आदेशमा उल्लेख छ । ओलीको हकमा अस्पतालमा आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश दिइएको छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ (लापरबाहीपूर्ण काम गरी ज्यान मारेको) र दफा १८२ (हेलचेक्र्याइँ गरी ज्यान मारेको) अनुसार अनुसन्धान हुनेछ । 
यसैबिच उनीहरुको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै ओली र लेखक पत्नी राधिका शाक्य र यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । जसको सुनुवाइ सोमबार हुनेछ ।
खड्कालाई ७ दिन म्याद थप 
पूर्व ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री, कांग्रेस नेता दीपक खड्कालाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । 
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार बिहान खड्कालाई सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न पक्राउ गरेको थियो । अदालतले ‘आज बयान सुरू भए पनि प्रमाणहरू बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धान सम्बन्धी कार्यहरू बाँकी नै रहेकाले उक्त प्रयोजनका लागि प्रतिवादीलाई आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थपको अनुमति’ दिएको छ । गत भदौ २४ मा उनको घरमा जलेका नोटहरु देखिएको भिडियो बाहिरिएका थिए । त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्