नेभिगेशन
अर्थतन्त्र

युसिनले पायो नागढुंगा सुरुङमार्ग सञ्चालन ठेक्का

वार्षिक १ अर्ब १० करोड ४० लाख ३७ हजार ८०० रुपैयाँ प्रस्ताव गर्ने कम्पनीसँग एक साताभित्र सम्झौता हुँदै

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन ठेक्काको टुंगो लागेको छ । सेवा प्रदायकको ठेक्का चिनियाँ र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चरले पाएको छ । नागढुंगा सुरुङ आयोजनाले आर्थिक मूल्यांकनमा छनोट भएका ७ कम्पनीमध्ये सबैभन्दा कम दर प्रस्ताव गर्ने चीनको चोङकिङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट र नेपालको एआरटी कन्स्ट्रक्सन जेभीलाई सेवा प्रदायक कम्पनीका रूपमा छनोट गरेको हो । 
यो कम्पनीले सुरुङमार्गको सेवा प्रदायकका रूपमा काम गर्न वार्षिक १ अर्ब १० करोड ४० लाख ३७ हजार ८०० रुपैयाँ प्रस्ताव गरेको थियो । कम्पनीले गरेको यो प्रस्ताव सरकारको अनुमानित लागतभन्दा ४० प्रतिशत कम हो । सबैभन्दा कम दर प्रस्ताव गर्ने चिनियाँ र नेपाली जेभी कम्पनीलाई ५ वर्षका लागि नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारको सेवा प्रदायकका रूपमा छनोट गरिएको आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले बताए । उनका अनुसार कम्पनीको छनोट गरी आयोजनाकोतर्फबाट सोमबार ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरी ७ दिनभित्र ठेक्का सम्झौताको माग दाबी गर्न आउन आह्वान गरिएको छ । सुरुङमार्ग सञ्चालनको ठेक्का पाएको मुख्य कम्पनी चोङकिङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट चीनको सरकारी स्वामित्वको पूर्वाधार निर्माण कम्पनी हो । सन् १९९८ मा स्थापना भएको यो कम्पनीले सडक, पुल, यातायात प्रणाली र इन्जिनियरिङ क्षेत्रमा काम गर्दै आएको छ । एआरटी कन्ट्रक्सन नेपाली कम्पनी हो । ठेक्का शर्तअनुसार विदेशी कम्पनीले नेपालीसँग ज्वाइन्ट भेन्चर गरेर बिडिङ गर्नुपर्ने व्यवस्था थियो । अहिले छनोटमा परेको कम्पनीसँग औपचारिक सम्झौता गरेपछि नै सुरुङमार्ग सञ्चालनको काम अगाडि बढ्ने उनले बताए ।
‘आयोजनाले सबैभन्दा कम दर प्रस्ताव गर्ने युसिन–एआरटी जेभीलाई छनोट गर्ने प्रक्रिया टुंग्याएर माग दाबी गर्न आउन आह्वान गरेका छौं,’ उनले भने, ‘प्रक्रिया पूरा भएपछि एक साताभित्रै सम्झौता गरेर सुरुङमार्ग सञ्चालनका लागि गर्नुपर्ने बाँकी कामको प्रक्रिया अगाडि बढ्नेछ ।’ 
छनोटमा परेको सेवा प्रदायक कम्पनीले सुरुङमार्गको टोल उठाउने, ट्राफिक व्यवस्थापन, मर्मत सम्भार, आपत्कालीन उद्धार, सुरुङमार्गको रेखदेखलगायत काम गर्नेछ । अहिले छनोटमा परी परिचालन हुने कम्पनीसँगको सम्झौता अवधि सकिएपछि फेरि अर्को ठेक्का आह्वान गरी सुरुङमार्ग सञ्चालन गर्ने सेवा प्रदायक कम्पनी छनोट गरिने र त्यति बेला नेपाली कम्पनीलाई नै प्राथमिकतामा राखिने पनि पन्थीले बताए । 
सुरुङमार्ग सञ्चालनका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा ६ वटा चिनियाँ, ३ वटा भारतीय र एउटा टर्कीको गरी १० वटा कम्पनीको प्रस्ताव गरेको थियो । प्रस्ताव परेकामध्ये  काष्ठमाण्डप–गान्सु हेङटोङ जेभी, एसएक्सआरबी–ब्राइट बुल जेभी, जेटीसीजी–डाँफे जेभी, ईएमएसएल पशुपति शिवजी कन्स्ट्रक्सन जेभी, समानान्तर चाइना फस्र्ट हाइवे इञ्जिनियरिङ जेभी, वेदान्शी इन्फ्रास्क्चर रानकेन रेलवे कन्स्ट्रक्सन ग्रुप र चोङकिङ युक्सिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट एआरटी कन्स्ट्रक्सन प्राविधिक मूल्यांकनमा पास भएका थिए । 
काष्ठमाण्डप गान्सु हेङटोङ जेभीले १ अर्ब १८ करोड १४ लाख ८८ हजार रुपैयाँ प्रस्ताव गरेको थियो । एसएक्सआरबी–ब्राइज जेभीले १ खर्ब १७ करो ७ हजार २००, जेटिसीजी–डाँफे जेभीले १ अर्ब २५ करोड २१ लाख ५९ हजार ९५१, ईएमएसएल–पशुपति शिवजी कन्स्ट्रक्सनले १ अर्ब २८ करोड ६० लाख ४१ हजार ५३५ रुपैयाँ, समानान्तर–सीएफएचइसी जेभीले १ अर्ब ५१ करोड ४ लाख ६० हजार ८८८ र बेदान्शी–राँके जेभीले १ अर्ब २६ करोड ४७ लाख ४६ हजार ४०० रुपैयाँ दर प्रस्ताव गरेका थिए ।  
आयोजनाले चैत १ गतेदेखि प्राविधिक मूल्यांकनमा छनोटमा परेका कम्पनीको आर्थिक प्रस्ताव खोल्न सुरु गरेको थियो । सेवा प्रदायक छान्न पहिलो पटक आयोजनाले गत १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । यसअनुसार बोलपत्र बुझाउने अन्तिम म्याद २ पुससम्म थियो । तर, यसलाई बढाएर पुस १६ पुससम्म म्याद थप गरिएको थियो । फेरि, आयोजनाले बोलपत्रमा राखेका प्रावधानका केही बुँदा स्पष्ट नभएकाले स्पष्ट पार्न माग भएपछि म्याद थपेर पुस ३० गते पु¥याइएको थियो । तेस्रो पटक थपिएको यही समयसीमाभित्र सेवा प्रदायक कम्पनीले प्रतिस्पर्धामा आउन बोलपत्रको प्रक्रियामा सहभागी भएका थिए । सुरुङमार्ग सञ्चालनमा अहिलेसम्म नेपाली सेवा प्रदायक कम्पनीको अनुभव नभएकाले नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।
तीन महिनाभित्र पूर्ण सञ्चालनमा ल्याइने 
ठेक्का पाएको कम्पनीले सम्झौता भएको तीन महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने शर्त रहेको पन्थीले बताए । उनका अनुसार २०८३ वैशाखको अन्त्यतिर सुरुङको परीक्षण सञ्चालन गर्न सकिनेछ । सेवा प्रदायक छनोटको सम्झौतापछि सुरुङमार्ग सञ्चालन गर्ने दक्ष जनशक्तिलाई प्रशिक्षण दिएर कामका लागि तयार गर्नुपर्ने भएकाले समय लाग्ने देखिएको हो । ‘सेवा प्रदायक छनोटलगत्तै सुरुङमार्ग सञ्चालनमा गइहाल्छ भन्ने हुँदैन, पहिले प्रशिक्षणबाट सेवा सञ्चालन गर्ने जनशक्ति तयार गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै सेवा सञ्चालनको थालनी प्रक्रियामा जानेछौं,’ उनले भने । उनका अनुसार काम गर्ने जनशक्तिको परीक्षणपछि सुरुमा सुरुङमार्गको परीक्षण सञ्चालन गरिनेछ । त्यसपछि मात्रै औपचारिकरूपमा व्यवसायिकरूपमा सुरुङमार्ग सञ्चालनमा आउने उनले बताए ।
सुरुङमार्गको परीक्षण वैशाखभित्रै सुरु भएमा विभिन्न चरण पार गर्दै जेठ अन्त्यसम्ममा व्यवसायिकरूपमा सञ्चालनमा ल्याउन सकिने पनि उनले बताए । सेवा प्रदायक कम्पनी छनोटपछि कर्मचारीहरूको व्यवस्थापन, म्यानपावर संकलन तथा तालिम जस्ता प्रक्रियाहरू पूरा गर्नुपर्ने भएकाले नै सुरुङमार्ग सञ्चालनमा ल्याउन जेठ अन्त्यसम्मको समय लाग्ने देखिएको हो । सुरुङमार्गको सञ्चालन खर्च सरकारले बेहोर्ने छ । सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनले तिरेको शुल्कबाट उठेको टोल रकम दैनिकरूपमा सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ ।
सुरुङमागको भौतिक पूर्वाधार निर्माणको मुख्य काम सकिएपनि साना तिना केही काम मुख्य सिभिल ठेकेदार कम्पनीले सम्पन्न गरिसकेको छैन । सेवा प्रदायक छनोट भएर प्रशिक्षणको काम चलिरहँदा बाँकी काम पनि सम्पन्न भई सिभिल ठेकेदारले आयोजना हस्तान्तर गर्ने र आयोजनाले सेवा प्रदायक कम्पनीलाई सुरुङमार्ग व्यापारिकरूपमा सञ्चालन गर्न हस्तान्तरण गर्ने योजना रहेको पनि पन्थीले जानकारी दिए । 
अहिले ठेकेदार कम्पनीले बाँकी कामहरू गरिरहेको छ । सेवा प्रदायक कम्पनी आयोजनामा परिचालन हुने समयसम्ममा मुख्य कामहरू सम्पन्न भइसक्ने उनको दाबी छ । ‘सेवा प्रदायक कम्पनी परिचालन हुने समयसम्ममा प्रमुख कामहरू सम्पन्न भइसकेका हुनेछन्, केही साना कामहरू बाँकी रहन सक्छन् । यस्ता कामहरू मुख्य ठेकेदारले आयोजना हस्तान्तरण गरिसकेको अवस्थामा पनि सम्पन्न गर्न सकिने उनले बताए । सुरुङमार्गबाट सवारी साधन सञ्चालन गर्न मिल्ने अवस्था भएपछि प्रमुख कामहरू पूरा भएको मानिने पनि उनले बताए । 
सुरुङमार्ग आयोजनाको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ । अब टोल बुथ निर्माणको काम मात्रै बाँकी छ । आगामी बैशाख १२ गते मुख्य ठेकेदार जापानी कम्पनीको थपिएको म्याद सकिँदैछ । आयोजनाका अनुसार यो अवधिभित्र ठेकेदार कम्पनीले टोल बुथको काम सम्पन्न गर्ने सम्भावना रहेको र यो समयमा निर्माण हुन नसकेमा म्याद थप गर्नुपर्ने अवस्था आएमा थोरै समय दिएर भएपनि काम सम्पन्न गरिनेछ । 
टोल शुल्क तय
सुरुङमार्ग सञ्चालनका लागि सवारीसाधन शुल्क तोकिसकिएको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको मन्त्रिपरिषद् बैठकले सडक बोर्ड नेपालले प्रस्ताव गरेको शुल्क संरचना स्वीकृत गरेको थियो । जसअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस, ट्रक र ट्रिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ । बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने ठूला ट्रक तथा हेभी सवारीका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका २०८१ चैत २५ गते जारी गरिएको हो । यो निर्देशिकाअनुसार सुरुङमार्गबाट पैदलयात्री, दुईपांग्रे (मोटरसाइकल), तीनपांग्रे र नन–मोटोराइज्ड सवारीलाई सुरुङमार्ग भएर यात्रा गर्न निषेध गरिएको छ । त्यस्तै, अत्यधिक प्रज्वलनशील पदार्थ (पेट्रोल, डिजेल, ग्यास) र विस्फोटक पदार्थ बोकेका सवारीले पनि सुरुङमार्गमा प्रवेश पाउने छैनन् । 
आयोजनाअन्तर्गत मुख्य र रेस्क्यु गरी दुईवटा सुरुङमार्ग निर्माण गरिएको छ । धादिङको सिस्नेरीबाट सुरु भई काठमाडौंको नागढुंगामा निस्कने मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ । यो सुरुङ २०८१ बैशाख ३ गते खनेर सकिएको थियो । २.५५७ किलोमिटर लामो रेस्क्यु सुरुङ २०८० साउन २२ गते खनेर सकिएको थियो । 
२१ अर्ब लागत 
सुरुमा १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सुरुङमार्ग आयोजनामा निर्माण अवधिमा ठेकेदारको क्षतिपूर्ति दाबी, स्थानीय अवरोधलगायत कारणले लागत बढेर करिब २१ अर्ब रुपैयाँ पुगेको छ । अतिरिक्त लागत बराबरको सहुलियतपूर्ण ऋण जापान सरकारले उपलब्ध गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्