नेभिगेशन
प्रदेश

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार कुखुरा नष्ट

नारायणगढ । चिवनमा बर्डफ्लु पुष्टि भएपछि १८ हजार कुखुरा नष्ट गरिएको छ । भरतपुर–४ स्थित एक लेयर्स फार्म र नजिकैको एउटा लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको हो । बर्डफ्लु देखिएको स्थानमा संक्रमण नियन्त्रणका लागि करिब १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने नजिकैको अर्को फार्ममा करिब ९०० लोकल कुखुरा नष्ट गरिएको जानकारी उनले दिए । ‘चितवनमा २०७८ सालपछि बर्डफ्लु यो वर्ष पहिलोपटक देखिएको हो र हालसम्म अन्यत्र फैलिएको छैन,’ उनले भने । २०७८ सालमा बर्डफ्लु फैलँदा जिल्लामा करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार हालसम्म अन्य स्थानमा बर्डफ्लु पुष्टि नभए पनि जिल्लामा जोखिम भने कायम छ । रोग विभिन्न माध्यमबाट सजिलै सर्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन उनको आग्रह छ । फार्महरूबीच सामग्री तथा अन्य वस्तुको ओसारपसार गर्दा विशेष सावधानी अपनाउन तथा किसानहरू सचेत रहन आवश्यक रहेको उनले बताए ।  ‘हाम्रो कुखुरापालन क्षेत्रको अवस्था नेटवर्किङजस्तै छ । एउटै गाडीले विभिन्न फार्ममा अण्डा संकलन र दाना आपूर्ति गर्छ । यस्तोमा संक्रमित फार्मबाट भाइरस अन्त सर्नसक्ने जोखिम रहन्छ,’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्