नेभिगेशन
प्रदेश

बाजेको घरलाई नातिले बनाए लोभलाग्दो होमष्टे

इलाम । इलाम नेपालको एक पर्यटकीय गन्तव्य हो, जहाँ आन्तरिक पर्यटकहरूको राम्रै घुँइचो लाग्ने गरेको छ । कन्यामको चिया बगान, भेडेटार सबैले जान मनपराउने ठाउँ हो । इलामको सदरमुकाममा अर्को एउटा गन्तव्य थपिएको छ, जहाँ १ सय १० वर्ष पुरानो घरमा होमष्टे चलाइएको छ ।
इलामको सदरमुकामनजिकै घलेटारमा रहेको नेपाल भिलेज होमष्टेले १ सय १० वर्षअघि बनेको घरलाई होमष्टेमा परिवर्तन गरको हो । इलाम नगरपालिका–५ का व्यवसायी नरेन्द्र गुरुङले हजुरबुवा रणवीर गुरुङले ११० वर्षअघि निर्माण गरेको घरलाई हामेस्टे बनाएका हुन् । नौ वर्षदेखि उनले चलाइरहेको यस हामेस्टेमा पछिल्ला दिनमा आगन्तुकहरु आउने क्रम बढ्दै छ ।
गुरुङले आफ्नो जागिर जीवनमा धरै उतार चढाव पार गर्दै पछिल्ला दिनमा जापानी सहयोग संस्था जाइकामा आबद्ध भएका थिए । दश वर्षअघि उनले जाइकाको जागिरबाट अवकाश पाए । अनि फुर्सदका दिनमा उनले हजुरबाको पुस्तौनी घरलाई व्यावसायिक रूप दिँदै होमष्टेमा रूपान्तरण गरे । यसका लागि उनलाई विदेशी दातृ निकायको कार्यालयमा काम गर्दाको अनुभव सहयोगी बन्यो । ‘त्यसबेला विकासका काम गर्ने संस्थामा काम गर्दै गर्दा नेपाल आउने विदेशी पर्यटकले के खोज्छन्, कहाँ बस्न खोज्छन्, उनीहरूको चाहना के हुन्छ भन्ने कुराले थाहा भयो,’ उनी भन्छन्, ‘उनीहरूले चाहेको खाना, बसाइ पूरा होस् भन्ने उद्देश्यले पनि मैले यो होमष्टे सुरु गरेको हुँ ।’
विदेशमा पर्यटकीय स्थानमा घर नै भाडामा लिएर केही दिन छुट्टी मनाउने परम्परा छ । उनको यो होमष्टेमा पनि त्यस्तै विदेशी पर्यटहरु आउँछन् । स्वदेशी पर्यटक उती आउँदैनन् । उनको हामेस्टे सदरमुकाममा नै भए पनि शान्त र सुन्दर वातावरणमा छ । हामेस्टेमा आउने पर्यटकहरु एक सातादेखि तीन सातासम्म बस्ने गरेका छन् । उनको नेपाल भिलेज हामेस्टेमा एक महिनामा हाराहारी आठदेखि दशजनासम्म पर्यटक आउने गरेका छन् । ‘यहा बसुञ्जेल इलाम घुम्ने, आफ्नो काम छ भने काम पनि सक्ने र आनन्द मनाएर फर्कने गरेको छन्,’ गुरुङ भन्छन् ।
गुरुङले आफ्नो होमष्टेमा आउने पर्यटकलाई कृषिमा आधारित जीवनशैली, इलामका घुम्ने स्थान माइपोखरी, सन्दकपुरसहितका ताप्लेजुङको पाथीभरा मन्दिरसम्मका पर्यटकीय केन्द्रबारे जानकारी गराउने र त्यहाँ घुम्न पठाउने गरेका छन् । होमष्टेमा कहिलेकाहीँ सघंसंस्थाका कार्यक्रमसमेत हुने गरेका छन् ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्याल घलेटारमा रहेको गुरुङको होमष्टेले सिकाएको पर्यटनलाई अरुले पच्छयाउनु पर्ने धारणा राख्छन् । ‘इलाममा चियाबारी हेर्न आउनेलाई चियाबारीमै बासको व्यवस्था हुनु, रेड पान्डा हेर्न चाहनेलाई त्यतै बासको व्यवस्था हुनु, पहाड र जडीबुटी, सिमसार हेर्न जानेलाई त्यतै केन्द्रित गर्न प्रकृतिमैत्री पूर्वाधारमा लगानी गर्नुपर्ने देखियो,’ पौडलले भने ।
पछिल्ला दिनमा गाउँको शान्त वातावरणमा रमाउन आन्तरिक र विदेशी पर्यटक इलाम आउने गरेको पर्यटन व्यावसायी तथा पर्यटन विज्ञ खगराज घिमिरे बताउँछन् । तर, व्यावसायीकरणले वातावरण बिग्रँदै जान थालेको प्रति पनि सचेत उनी सुझाउँछन् । जहाँ पनि पर्यटन प्रवद्र्धन गर्न सुरुमा धेरैभन्दा धेरै पर्यटक आउन् भन्ने चाहना राखिन्छ तर पर्यटन आगमनसँगै त्यसलाई निगमन गर्नुपर्ने उनी बताउँछन् । ‘हाम्रो यता पश्चिम बंगालबाट आउने र नेपाल भित्रैबाट आउने पर्यटक अचेल शान्त स्थानमा रमाउन चाहको पाइन्छ,’ उनी भन्छन्, ‘जसरी नेपाल भिलेज हामेस्टेले एउटा गाउँले वातावरणलाई कायम गर्दा त्यो पनि पर्यटकलाई थप आकर्षण हुने पुष्टि गरेसँगै अब गाउँठाउँमा होमष्टे बनाउँदा मौलिकता र शान्ति कायम गर्नुपर्छ । पर्यटन नै पर्यटनको शत्रु हो भन्छन् । त्यसैले इलामको शान्ति कायम गर्न पनि हामीले स्वस्थ्य व्यासाय गर्नुपर्छ, जसरी नेपाल भिलेज हामेस्टेले गरेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्