नेभिगेशन
दृष्टिकोण

एससीओमा प्रधानमन्त्री ओलीले भने, ‘एक्लै नबसौं, सहकार्य बढाऔं’

काठमाडौं, १६ भदौ - चीनको तियानजिनमा जारी एससीओ प्लस शिखर सम्मेलनमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीयता पुनर्जीवित गर्न र क्षेत्रीय सहकार्य बढाउन जोड दिएका छन् ।

उनले आफ्नो सम्बोधनमा भने ‘छुट्टै एक्लै बसेर कुनै राष्ट्र सुरक्षित रहन सक्दैन । समृद्धि हासिल गर्न सक्दैन । त्यसैले बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो ।’

ओलीले विश्वमा विज्ञान र प्रविधिको असाधारण प्रगतिसँगै बढ्दो असमानता, आर्थिक अशान्ति, जलवायु आपातकाल र सीमापारि फैलिएका द्वन्द्वलाई गम्भीर चुनौतीका रूपमा औंल्याए । 

उनले भने, ‘बहुपक्षीय मञ्चहरूले धेरै वाचा गर्छन्, तर प्रायः थोरै मात्र उपलब्धि दिन्छन् । प्रगतिबिनाको वाचाले विश्वास क्षीण गर्छ । तर बहुपक्षीयतालाई त्याग्नु समाधान होइन । हामीलाई अहिले नै सशक्त बहुपक्षीयताको आवश्यकता छ ।’

ओलीले संयुक्त राष्ट्रसंघलाई विश्व शासन प्रणालीको केन्द्र बनाई प्रभावकारी र दक्ष बनाउनुपर्नेमा जोड दिदै चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ –जीजीआई) लाई बहुपक्षीय प्रणालीलाई न्यायपूर्ण, समावेशी र समान बनाउने प्रयासका रूपमा स्वागत गरे ।

Oli-in-China-1756740927.jpeg
उनले एससीओको महत्व पनि औंल्याउँदै भने, ‘एससीओलाई अझ बढी एकीकृत, अन्तरसम्बद्ध र लचकदार बनाउन तत्काल आवश्यकता छ, जसले बढ्दो भूराजनीतिक, आर्थिक र पारिस्थितिकीय चुनौतीहरू सामना गर्न सकोस् । नेपाल २०१६ देखि गर्वका साथ संवाद साझेदार बनेको, पूर्ण सदस्यता पाउन उत्सुक छ ।’

प्रधानमन्त्री ओलीले क्षेत्रीय सुरक्षा, आतंकवाद, जलवायु परिवर्तन र सम्भावित संकट जस्तै साइबर आक्रमण र महामारीलाई साझा चुनौतीका रूपमा उल्लेख गर्दै भने, ‘हामीले अघि बढ्न तीनवटा परिवर्तन आवश्यक छन् – अलगावबाट जोडिनेतर्फ, टकरावबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहयोगतर्फ ।’

नेपालले एससीओभित्र क्षेत्रीय सहकार्य प्रवर्धन गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्दै उनले भने, ‘हामी एक नियममा आधारित, समावेशी बहुपक्षीय प्रणालीलाई समर्थन गर्छौं, जसले दिगो भविष्य सुनिश्चित गर्नेछ । आत्मालाई उच्च राखौ, मित्रता, साझेदारी र असल छिमेकी सम्बन्ध बलियो बनाऔं ।’

सम्मेलनलाई सम्बोधनअघि ओलीले विभिन्न मुलुकका राष्ट्र प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । लाओका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा. हुन मानेट, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मोइज्जुसँग भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण