नेभिगेशन
नेपाल

सर्वोच्चमा फेरि महिला नेतृत्व

काठमाडौं । मुलुकको न्यायिक इतिहासमा फेरि महिला नेतृत्व स्थापित भएको छ । सपना प्रधान मल्लले बुधबारदेखि कायममुकायम  प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै सर्वोच्च अदालतको नेतृत्वमा दोस्रो महिला रूपमा कीर्तिमान बनाएकी हुन् । 
पहिलो महिला प्रधानन्यायाधीश हुनेमा सुशीला कार्की हुन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार सेवानिवृत्त भएपछि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी हुन् । नेपालको संविधानको धारा १२९ (६) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा वरिष्ठतम् न्यायाधीशले उक्त जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।
न्याय परिषद्ले यसअघि नै प्रधानन्यायाधीशका लागि योग्य ठहरिएका न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा सिफारिस गरिसकेको छ । तर,  प्रतिनिधिसभा विघटनका कारण परिषद्को बैठक बस्न नसक्दा नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया स्थगित छ । सभामुख, उपसभामुख तथा प्रमुख विपक्षी दलका नेताको पद रिक्त रहेकाले संवैधानिक प्रक्रिया प्रभावित भएको हो । अब बिहीबारदेखि संसद् सञ्चालनसँगै संसदीय सुनुवाइ विशेष समितिको गठन भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
कामु प्रधानन्यायाधीश मल्लको जन्म विसं २०२० कात्तिक २९ मा  काठमाडौंको थापाथलीमा जन्मेकी हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर उनले हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा समेत उच्च शिक्षा हासिल गरेकी छन् ।
विसं २०४५ देखि कानुन व्यवसायमा सक्रिय मल्ल २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी थिइन् । अधिवक्ताका रूपमा लामो अनुभव बटुलेकी उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेकी हुन् । उनी त्यसअघि २०६४ देखि २०६९ सम्म संविधानसभा सदस्य थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्